डब्लूएचओले भन्यो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमीक्रोन’, डेल्टाभन्दा खतरनाक
काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमीक्रोन नाम दिएको छ। यो भेरिएन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
यसलाई अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरिएन्ट भएको बताइएको छ। डब्लूएचओले यो भेरिएन्टको नाम राख्दै सतर्क रहन चेतावनी दिएको छ। ‘यो भेरिएन्ट अफ कन्सर्नमा रहेको छ। यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएकाले सतर्क रहन जरुरी छ,’ डब्लूएचओले भनेको छ।
वैज्ञानिकहरुले यसलाई ‘डरलाग्दो म्युटेशन’ हुनसक्ने सबैभन्दा खराब भेरियन्ट भनेका छन्। यसका कारण विश्वभर फेरि संक्रमण बढ्ने चिन्ता गरिएको छ। सुरुवाति अनुसन्धानका अनुसार यसबाट संक्रमण फैलिने खतरा बढी रहेको जानकारी प्राप्त भएको पनि डब्लूएचओको भनाइ छ। सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लूएचओको भनाइ छ।
भारतको स्वास्थ्य मन्त्रालयले विभिन्न राज्य र त्यहाँका निकायमा गरेको पत्राचारमा भने यो भाइरस बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा फैलिएको उल्लेख छ।
तर, यो भेरिएन्ट अहिले औपचारिक रुपमा भने दक्षिण अफ्रिकामा मात्र भेटिएको बताइएको छ। यसका केही संक्रमित मात्र भेटिए पनि अझ ठूलो रुपमा फैलिसकेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
यो भेरिएन्टमा खोपले काम गर्ने वा नगर्ने अध्ययन भइरहेको तर, सजग हुनुपर्ने वैज्ञानिकहरुको भनाइ छ। यसबारे सबै जानकारी फेला नपरीसकेको पनि बताइएको छ।
प्रतिक्रिया