लयमा फर्किदै ठमेल
काठमाडौं,
मुलुकमा कोरोना भाइरस संक्रमणका कारण अनिश्चितकालिन बन्द भोगेका ठमेलका लाउन्ज, क्लब र डिस्कोहरुको व्यवसाय लयमा फर्किएको छ। विदेशी पर्यटकको आगमन बढ्न नसके पनि नेपाली ग्राहक नै भरिन थालेपछि व्यवसायको अवस्था कोरोनाकालभन्दा अघि जस्तो भएको हो। विस्तारै ठमेल लयमा फर्किएको छ ।
हरेक सप्ताहान्तमा ठमेलमा २० हजारभन्दा बढीको भीड लाग्न थालेको छ। कोरोना संक्रमण दर घटेसँगै लाउन्ज,पब र डिस्कोको व्यवसायले गति लिएको हो। व्यवसाय पुरानै लयमा फर्किन थालेसँगै रात्रीकालीन समयमा संचालन हुँदै आएका लाउन्ज, पब, क्लब, रेष्टुरेन्ट लगायतमा पुरा जनशक्ति परिचालन हुन थालेको व्यवसायीले जनाएका छन्।
व्यवसाय नचल्दा धेरैले कर्मचारी कटौती गरेका थिए। निकाल्न नसकेकाहरुले तलब घटाएर बिदामा राखेका थिए। अहिले ती सबैलाई बोलाइएको व्यवसायीले बताएका छन्। दुई महिनायता विकेण्डको समयमा ठमेलमा २० हजार जना भन्दा बढी युवा जमातको सहभागिता हुँदै आएको ठमेल पर्यटन विकास परिषदका महासचिव एवं भीभीआइपी लाउन्जका सञ्चालक ध्रुव अधिकारीले बताए।
‘अब फेरि कोरोनाको डर नहुने हो भने ठमेलको नाइटलाइफ आफ्नै गतिमा फर्किएको छ,’ उनले भने, ‘शुक्रबार र शनिबार धेरै भीड हुन थालेको अवस्था व्यवसाय लयमा फर्किएकै हो।ु’आन्तरिक पर्यटककै भरमा रात्रीकालिन व्यवसाय पुरानै लयमा फर्किएको उनले बताए।
ठमेलमा करिब दुई दर्जन नाइट क्लब छन्। अधिकांश क्लब राती १० बाट बिहान ५ बजेसम्म सञ्चालनमा आइरहेको उनले बताए। ‘दुई सय ५० जना क्यापासिटीको लाउन्जमा एक पटकमा डेढ सय जनाले सेवा लिँदै आएका छन्, उनले भने। पछिल्लो समय शुक्रबार बाहेकका दिनमा पनि आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रहेको उनले बताए।
प्रतिक्रिया