हुस्सु र कुहिरोले विमानस्थल ठप्प, साढे ३ सय उडान प्रभावित
काठमाडौं
बाक्लो हुस्सुका कारण विमानस्थल नखुल्दा देशैभरको उडान ठप्प भएको छ । हुस्सुका कारण काठमाडौंको विमानस्थल नखुल्दा काठमाडौं बाहिरका तीन वटा विमानस्थल खुलेको भए पनि उडान भने हुन सकेको छैन ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हुस्सुका कारण भिजिबिलिटी नभएका कारण शुक्रवार तय भएका आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन् ।
विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा काठमाडौं बाहिरका विराटनगर, भद्रपुर र भरतपुर विमानस्थल खुलेको भए पनि त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरण हुन नसक्ने भएकाले सबै उडान ठप्प छ । उडान नखुल्दा त्रिभुवन विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको भीड लागेको छ ।
विमानस्थलका अनुसार ३०० मिटर मात्रै भिजिबिलिटी छ । उडान हुन न्यूनतम एक हजार मिटर नभएसम्म उडान हुन नसक्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार शुक्रवारका लागि ३० वटा अन्तर्राष्ट्रिय उडान र १३९ वटा आन्तरिक उडानको तालिका तय भएका छन् । विमानस्थल नखुल्दा उडान र अवतरण गरेर अन्तर्राष्ट्रियतर्फ ६० र आन्तरिकमा काठमाडौंबाट मात्रै २७८ वटा र प्रादेशिकसमेत गरी करीब तीन सय उडान प्रभावित भएका छन् ।
यति एयरलाइन्सले मात्रै शुक्रवारका लागि २५ वटा उडान तय गरेको थियो । तर, काठमाडौंसहित तराई क्षेत्रका सबै विमानस्थल ठप्प भएकोले अहिलेसम्म कुनै उडान हुन नसकेको यति एयरलाइनसले जनाएको छ ।
यो वायुसेवाले तय गरेको शुक्रवारको उडानमा कठमाडौंबाट पोखरा ७, विराटनगर ६, भद्रपुर २, जनकपुर २, सिमरा २, भैरहवा ४ र नेपालगन्जको लागि दुई वटा उडान तय भएको यति एयरलाइन्सका प्रवक्ता शुदर्शन बर्तौलाले बताए ।
बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले पनि बुद्धले शुक्रवारका लागि मात्रै करीब ७० वटा उडान तय गरेको जानकारी दिए । उडान हुन नसक्दा वायुसेवाको तालिका र यात्रु व्यवस्थापन दुवैमा समस्या भएको उनले बताए ।
प्रतिक्रिया