गृहले भन्यो, ‘सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछोड्नू’
२३ पुस, काठमाडौं
प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ। गृह मन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए।
गृह मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौं विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले उक्त कुराको जानकारी दिए। उनले गृह मन्त्रालय अरू मन्त्रालय जस्तो नभई चौबिसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे।
राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव उनले दिए। उनले भने, ‘नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी तयार हुनुपर्छ।’
प्रतिक्रिया