नेपाली ‘शोभराज’ अभिषेकराज सिंह, जसले कारागारभित्रै यसरी गरे अर्का कैदीको हत्या

काठमाडौं
नेपाली सिरियल किलर मध्येका एक हुन् अभिषेकराज सिंह । उनले नेपाली ‘शोभराज’को नामले समेत कुख्याती कमाएका छन् । बाँके नेपालगञ्ज– ३ घर भएका सिंह २०७० सालमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । प्रहरीका अनुसार तन्त्रमन्त्र सिकेका उनी धार्मिक आवरणमा विभिन्न खाले अपराध गर्दै आएका थिए ।
उनीमाथि ६ जनाभन्दा बढी व्यक्तिको शृंखलाबद्ध हत्या गरेको अभियोग छ । सोही मुद्दामा उनी ललितपुरको नख्खु कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । तर, २० वैशाख २०७५ मा नख्खु कारागारभित्रै अर्का कैदी भक्तबहादुर सुनुवारलाई खानामा विष मिसाएर हत्या गरेपछि उनलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरमा राखिएको छ । सिंहले विभिन्न वनस्पति प्रयोग गरी मन्द विष बनाएर सुनुवारलाई खुवाएका थिए ।
सिंहले गरेका हत्या क्रुर तरिकाको थियो । मध्यमवर्गीय परिवारमा जन्मिएका उनका बुबाको सशस्त्र द्वन्द्वमा माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । त्यसपछि उनी ‘साइको’ हुन थालेको प्रहरी अधिकारीको भनाइ छ । आफ्नो बुबाको हत्याको बदला लिने क्रममा उनले विभिन्न व्यक्तिको हत्या गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको भनाइ छ । बुबाको हत्यालगत्तै बाँकेमै उनले दुई युवालाई गोली हानी मारेका थिए । त्यसपछि उनी भारत भागे । द्वन्द्वको समय भएकाले सो घटनाको गम्भीरताका साथ अनुसन्धान भएन ।
भारतमा बस्दा पनि उनी आपराधिक समूहमै आबद्ध थिए । ०६४ देखि उनी काठमाडौं बस्न थालेका हुन् । उनले योगगुरु र तान्त्रिकको समेत परिचय बनाएका थिए । तन्त्र–मन्त्रमार्फत रोग निको पारिदिने भन्दै उनले पैसा कमाउन थाले । त्यही कामको सिलसिलामा उनको धनाढ्यहरूसँग भेट हुन थाल्यो ।
उनले पहिलो हत्या ०६७ मा गरेका थिए । योग सिकाउने क्रममा धनाढ्य मदन राणासँग उनको भेट भयो । राणाले जग्गा बेच्न खोजेका थिए । त्यसमा सहयोग गरेर कमिसन खाने उनको योजना थियो । तर, राणाले इचंगुनारायणका नरबहादुर गोतामेलाई जग्गा बेच्ने जिम्मा दिएका थिए । सिंहले गोतामेसँग मिलेर जग्गा बेच्ने प्रस्ताव राखे, तर गोतामेले एक्लै बिक्री गरी कमिसन खाएका थिए ।
त्यसैको प्रतिशोधमा म्युजिक भिडियोमा अभिनय गराउने भन्दै गोतामेलाई सुर्खेतको वीरेन्द्रनगर पुर्याएका थिए । त्यहाँ आशीर्वाद होेटेलमा झाडापखलाको औषधि भन्दै इन्जेक्सन दिई बेहोस बनाएर हत्या गरेका थिए । त्यो घटनापछि उनी भारत भागेका थिए । केही समयपछि उनी नेपाल फर्किए र समीर घिमिरेको नाममा नागरिकता बनाएर तान्त्रिक काम सुरु गरेका थिए ।
त्यसको दुई वर्षपछि उनले दोस्रो हत्या गरे । ७ साउन ०६९ मा उनले लखनउ पुर्याएर जगतमान तामाङको हत्या गरेका हुन् । तामाङसँग आर्थिक कारोबारमा विवाद भएपछि उनले बेहोस हुने औषधि खुवाएका थिए । गाडीमै बेहोस बनाई उनले एकान्तमा फालिदिएका थिए ।
आफ्नै घरमा काम गर्न राखेका सार्की तामाङलाई पनि उनले सोही वर्ष हत्या गरेका थिए । सुन्धाराको न्यु आकाश गेस्ट हाउसमा बेहोस हुने औषधि खुवाएर उनले हत्या गरेका हुन् । जुन घटना पनि लामो समयसम्म पत्ता लागेको थिएन ।
०७० असोज पहिलो साता लोमस फर्मास्युटिकल्समा स्टोरकिपरका रूपमा काम गर्ने निरन पाण्डे बेपत्ता भएपछि महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढाएको थियो । मणिको कारोबार गर्ने भन्दै सिंहले एक साथीको कारमा पाण्डेलाई तराई लिएर गएका थिए । उनलाई पनि गाडीमै बेहोस बनाई धनुषाको लालगढमा फालिदिएका थिए । हाइवेकै छेउमा पाण्डेको शव भेटिएको थियो । सिंहलाई पक्राउ गरेर सोधपुछ गर्दा मात्र उनले हत्या गरेको खुलेको थियो । चारवटा घटनामा प्रहरीलाई छक्याउन सफल भएका उनी पाँचौँपटकको हत्यामा प्रहरी फन्दामा परेका हुन् । पक्राउ परेपछि गर्वका साथ उनले आफूले गरेका हत्या स्वीकार गरेका थिए ।
प्रतिक्रिया