शुक्रबार १८ माघ, २०८१ | Friday, January 31, 2025

त्यसपछि भयो सावित्रीको हत्या…, तीन जना अभियुक्त सार्वजनिक

त्यसपछि भयो सावित्रीको हत्या…, तीन जना अभियुक्त सार्वजनिक

काठमाडौं
सर्लाही प्रहरीले ३२ वर्षीय महिलाको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीको बरहथवा नगरपालिका–१० कटानी टोल बस्ने सुरतराम हजराकी श्रीमती सावित्रीकुमारी महराको हत्या भएको थियो।

३२ वर्षीया महराको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका–१० ताइवान टोल बस्ने २७ को सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ को रोहित हजरा रहेका छन्।

पुस २३ गते बिहान साढे १० बजे सावित्रीकुमारी महराको शव आधा जलेको अवस्थामा उखु खेतभित्र फेला परेको थियो। उनी पुस १७ गते औषधी गराउन भनेर घरबाट वीरगंज हिँडेकी थिइन्। प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सन्तोष साह हुन् । सन्तोष र सावित्रीबीच दुई वर्षअघिदेखि चिनजान थियो ।

सावित्रीका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले पठाएको रकमबाट जग्गा किन्ने तयारी गरेकी सावित्रीले सन्तोषलाई जग्गा खोजिदिन भन्दै दुई लाख रुपैयाँ दिएकी थिइन् ।

सर्लाहीका प्रहरी प्रमुख प्रसाईं सावित्री र सन्तोषबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय सावित्रीले विवाह गर्न दबाव दिएको अनुसन्धानका क्रममा खुलेको बताउँछन् ।

सन्तोषले विवाह गर्न अस्वीकार गरे, बरु हत्याको योजना बनाए । प्रहरी प्रमुख प्रसाईं भन्छन्, ‘सोही योजना अनुरुप साथीहरुको सहयोगमा सन्तोषले सावित्रीको हत्या गरेका रहेछन् ।’

प्रहरीका अनुसार पुस १७ गते सन्तोष साथीहरु मुकेश ब्लोन र रोहित हजारालाई लिएर बरहथवातिर गए । तीनैजना ना ४५ प ५२०७ नम्बरको एउटै मोटरसाइकलमा चढेर बरहथवा–१० इँटा उद्योग नजिकको उखुबारीमा बसे ।

त्यसपछि सन्तोषले सावित्रीलाई उनको घरबाट लिएर आए र आफू पिसाब गर्ने वहानामा सावित्रीलाई एक्लै बनाइदिए । त्यही बेला ब्लोन र हजरा र साह मिलेर सावित्रीको हत्या गरेको एसपी प्रसाईंले बताए ।

हत्यापछि उनीहरुले सावित्रीको शव जलाएको प्रहरीले बताएको छ ।