सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

एकै घरका चार जना मृत अबस्थामा फेला

एकै घरका चार जना मृत अबस्थामा फेला

काठमाडौं
सुर्खेतमा एकै घरका चार जना मृत अबस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा उनीहरु मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा निरज, नौ वर्षीय छोरा चिरञ्जीवी र कल्पाका दाजु मानबहादुर बुढाका पाँच वर्षीय छोरा सोमराज बुढा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

शुक्रबार राति सुतेका उनीहरुलाई प्रहरीले शनिबार बेलुकी मृत अवस्थामा फेला पारेका हो । प्रहरीका अनुसार शुक्रबार बेलुकी खाना खाएर चारैजना एकै कोठामा सुतेका थिए । भोलिपल्ट (शनीबार) बिहानै ७७ वर्षीया कल्पाका ससुरा पूजाआजाका लागि मन्दिर गएका थिए । अपराह्न ४ बजेतिर फर्कँदा कोही पनि उठेको नदेखेपछि शनिबार करिब ६ बजेतिर उनले प्रहरीलाई खबर गरेको डिएसपी घर्तीले जानकारी दिए । उनका अनुसार कोठाभित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोइला बाली झ्याल ढोका थुनेर सुत्दा मृत्यु भएको हुन सक्ने देखिएको छ ।