प्रहरीको नियन्त्रणमा रहेका युवकको मृत्यु
काठमाडौं
बलम्बु प्रहरीको नियन्त्रणमा रहेका एक युवकको मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग बलम्बुको नियन्त्रणमा रहेका सुनसरीका ओमप्रकाश श्रेष्ठको मृत्यु भएको हो।
गत पुस २८ गते साँझ श्रेष्ठको साथमा ब्राउन सुगर रहेको भन्ने सूचनाका आधारमा बलम्बु प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएर लागुऔषध मुद्दा चलाउने हुँदा प्रमाण नष्ट गर्न भन्दै श्रेष्ठले आफ्नो साथमा रहेको करिब ३ ग्राम ब्राउन सुगर निलेका प्रहरीको दाबी छ। सोही कारण ओभरडोज भएर उनको मृत्यु भएको प्रहरी स्रोतले दाबी गरेको छ।
यद्यपि, पोष्टमार्टम र भिसेरा रिपोर्ट नआएसम्म मृत्युको कारण यकिन भन्न नमिल्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए।
‘ब्राउन सुगर निलेको भन्ने थाहा पाएपछि हाम्रो एक जना हवल्दारसाबले निकाल्न खोज्नु भएछ। त्यसबेला हवल्दारसाबकै औंला समेत टोकिदिएका थिए’, प्रहरी स्रोतले भन्यो, ‘पछि रियाक्सन देखिन थालेपछि कलंकीस्थित ओम समाज अस्पताल लगियो। त्यहाँबाट वीर अस्पताल पुर्याएकोमा वीरले मृत घोषणा गरेको हो।’
प्रतिक्रिया