शुक्रबार १८ माघ, २०८१ | Friday, January 31, 2025

‘अप्रेसन हनी’: यसरी समातिए गुणस्तरहीन मह उत्पादक श्रेष्ठ

‘अप्रेसन हनी’: यसरी समातिए गुणस्तरहीन मह उत्पादक श्रेष्ठ


काठमाडाैं,
महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्ने काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले नतिजा प्याकेजिङ नामको कम्पनीमार्फत गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्दै आएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले उक्त कम्पनीको ७ हजार ६ सय तयारी तथा कच्चा मह, ग्लुकोज ५ सय किलो, चिनी एक सय किलो, जोख्ने मेसिन, सिल मेसिनलगायत बरामद गरिएको पर्दाफासलाई जानकारी दिए । महाशाखाले ‘अप्रेसन हनी’ चलाएर कारबाही थालेको उनले बताए ।

एसएसपी कुँवरका अनुसार श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा उक्त कम्पनी सञ्चालन गरी मह विक्री गर्दै आएका थिए ।

कम्पनीले ‘स्पर्श हनी’ नामको लेबल टाँसेर विक्री गर्दै आएको थियो । त्यस्तो मह काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा विक्री हुन्थ्यो । श्रेष्ठले कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रति के.जी. ६५० रुपैयाँ विक्री गर्दथे ।

श्रेष्ठले मह बनाउँदा ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट गर्ने गरेको पाइएको छ । स्पर्श हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा गुणस्तर अनुरुप नरहेको र खान योग्य नरहेको पनि प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर बुझाइएको छ । महाशाखाले काठमाडौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एवं गुणस्तरहीन मह विक्री भइरहेको पाइएकोले त्यसतर्फ सजग एवं सचेत रहन पनि अपिल गरेको छ ।