सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

सशस्त्रका दुई डीआईजीको अवकाश

सशस्त्रका दुई डीआईजीको अवकाश

काठमाडौं
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) खड्गजित राई र मन्दिप श्रेष्ठले अवकाश पाएका छन्। डीआईजीको कार्यकाल एक वर्ष पहिलेनै सकिए पनि एआईजीमा बढुवा हुन नसक्दा दुवै डीआईजी अनिवार्य अवकाशमा गएका हुन्।

डीआईजीको चार वर्षे कार्यकाल गत वर्ष माघ २६ गते नै सकिएको थियो। तर सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था अनुसार उनीहरुको कार्यकाल हालसम्म थप भएको थियो।

सरकारले सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थप गर्ने तयारी गरेपनि उनीहरुको अवकाश पछि मात्रै निर्णय हुने भएको हो। केपी ओली नेतृत्वको सरकारको साथ पाएका दुवैलाई घर पठाएर मात्रै शेरबहादुर देउवा नेतृत्वको सरकारले दरबन्दी थपको तयारी गरेको हो।

उनीहरुको अवकाश अघि एआईजीको दरबन्दी थप भएको अथवा रिक्त भएको भए उनीहरु मध्ये एकजना भावी आईजीपी हुने सम्भावना समेत थियो। तर ३० वर्षे सेवा अवधि पूरा नहुँदै घर जानु परेको हो।

श्रेष्ठ सशस्त्र प्रहरी प्रवक्ता थिए भने राईको प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी थियो।

आईजीपी शैलेन्द्र खनालको कार्यकाल आगामी चैत २८ गते सकिँदैछ। हाल कार्यरत दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेल आगामी वैशाख १९ गते अवकाश हुनेछन्। सरकारले उनीहरुलाई आईजीपी नबनाई अब थप गरिने एआईजीलाई नै आईजीपी बनाउने तयारी गरेको गृह मन्त्रालय श्रोत बताउँछ।

वैशाख १९ पछिको आईजीपीका लागि डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश ९सीपी० गौतम मुख्य दाबेदार हुन्। उनीहरु एकै पटक डीआईजीमा बढुवा भएका हुन्। तर अर्याल पहिलो नम्बरमा बढुवा भएकाले उनकै संभावना बढी देखिएको छ।