शुक्रबार १८ माघ, २०८१ | Friday, January 31, 2025

हिमाल सुरक्षा परिषदका मुख्य नाइकेसहित ४ जना पक्राउ

हिमाल सुरक्षा परिषदका मुख्य नाइकेसहित ४ जना पक्राउ

सुनसरी,
हिमाल सुरक्षा परिषद्का मुख्य नाइके सञ्जय भनिने ४३ वर्षीय खगेन्द्र खरेल पक्राउ परेका छन् । गत सोमबार राति इटहरीमा भएको बम विस्फोट घटनासँग जोडिएका खरेलसहित प्रहरीले इटहरी २ बस्ने २० वर्षीय रविन थापा, आशा ठकुरी भनिने ३२ वर्षीया लक्ष्मीदेवी थापा ठकुरी, लम्जुङको ढोडेनी–७ बस्ने २३ वर्षीय शेरजंग गुरुङलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

खरेलको ठेगाना झापाको कन्काइ नगरपालिका–८ लक्ष्मीपुर रहेको बताइए पनि उनी पूर्वोत्तर भारतको आसामाका बासिन्दा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार सार्वजनिक गर्दै इटहरी झापा, मोरङ र सुनसरीलगायत केही जिल्लामा आपराधिक र उच्छृङ्खल गतिविधि गर्दै आएका खरेलले कहिले ग्रेटर नेपाल, कहिले हिन्दुवादी र राजावादीको राजनीतिक आवरणमा सशस्त्र विद्रोहको घोषणा गरेका थिए ।

पक्राउ परेकामध्ये बम विस्फोट भएको लक्ष्मीको कोठाबाट प्रहरीले लक्षमीदेवी थापाको नामको बैंक चेक बुक एक थान, राष्ट्रिय स्वाधिनताको लडाइँमा जनताको असल साथी राजा सीएफएन ‘कफन स्थापना २०७० लेखिएको विभिन्न रंगका पर्चाहरु, हिमाल सुरक्षा परिषद् नेपाल पर्चा, सीएफएन कफन लेखिएको अर्धकट्टी सदस्यस्ता कार्ड २८ थान, तामाको तारको गुजुल्टो, ओप्पो ब्राण्डको व्याट्री, दुइ थान मोबाइल बरामद गरेको थियो ।

खरेललाई मेचीपारी पश्चिम बंगालको नकलबन्दाबाट बिहीबार राति भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो । लक्ष्मी ठकुरी डेढ वर्षदेखि अमृत श्रेष्ठको घरको कोठा भाडामा लिएर छोरासँग बस्दै आएकी थिइन् । पछिल्लो समयमा गत सोमबार राति इटहरीको– २ नवजागृती टोलस्थित अमृत श्रेष्ठको घरमा बम विस्फोट भएपछि प्रहरीलाई खरेल पक्राउ गर्ने अवसर जुरेको प्रहरीले बताएको छ ।

बम विस्फोट हुँदा २० वर्षीय रविन थापा र लमजुङका शेरजंग गुरुङ घाइते भएका थिए । सोमबार नै शेरजंगले भारतीय नाका हुँदै काँकटभिट्टाबाट ल्याएको र राति अचानक कोठामा विस्फोट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । बम विस्फोट हुँदा लक्ष्मी ठकुरी भने कोठामा थिइनन् । उनका छोरा रविन र गुरुङ मात्र थिए । उनी एक दिनअघि नै भारत जाने भनेर काँकडभिट्टातिर गएकी थिइन् । उनलाई स्थानीय सफारी चालकले नै इटहरीको पूर्व बस स्टेन्डसम्म पुर्याएका थिए । छिमेकीहरूका अनुसार गुरुङलाई ठकुरीले नै तीन साताअघि लमजुङबाट बोलाएर ल्याएकी थिइन् ।

विभिन्न समयमा बम आतंक मच्चाउने मुख्य नाइके खरेलको खोजी गरिरहेका बेला इटहरीको चर्चमा पड्काउनका लागि ल्याइएको बम उनीहरु बसेकै कोठामा विस्फोट भएपछि घटनाको सम्बन्ध हिमाल सुरक्षा परिषद्को गतिविधिसँग जोडिन पुगेको थियो ।