सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

गोदावरीको मेयरमा एमालेबाट ८ जना सिफारिस हुँदा गम्भीर राना टिकटको बलियो दावेदार

गोदावरीको मेयरमा एमालेबाट ८ जना सिफारिस हुँदा गम्भीर राना टिकटको बलियो दावेदार

ललितपुर

आसन्न स्थानीय निर्वाचनका लागि नेकपा एमालेको ललितपुर स्थित गोदावरी नगर कमिटीले यसअघि ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेहरुमा प्रदेश सांसद समेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ,प्रदेश कमिटि सदस्य मिठाराम केसी, जिल्ला कमिटि सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटि सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटि अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहेका छन् ।

उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ । अब जिल्ला कमिटीले नाम छाँटकाँट गरेर प्रदेशलाई सिफरिस गर्ने र प्रदेशले उम्मेदवार उठाउने छ। बैशाखको पहिलो हप्तासम्म उम्मेदवार छनौंट गर्ने योजना छ । एक नेताका अनुसार ललितपुर एमालेभित्र प्रदेश सासंद चेतनाथ सञ्जेल र नेता गम्भिर रानाबीच मेयरको उम्मेदवारीका लागि हानथाप परेको छ । तर बलियो उम्मेदवारको रुपमा भने गम्भीर रानाको नाम बढी चर्चामा रहेको ती नेता बताउँछन् ।

सांसद सञ्जेल आफू उम्मेदवार भए मात्र गोदावरीको मेयर पद जित्न सक्ने दावी गर्दै आएका छन् भने पार्टीले हुँदाखाँदाको प्रदेश सासंद खाली गराएर अर्को मेयर खोज्न तर्फ पार्टी लाग्न नहुने रानाको तर्क रहेको छ । पछिल्लो समय सांसद सञ्जेललाई जनमतको अवमुल्यान गरेको भन्दै तीब्र आलोचना समेत पार्टीभित्र खेपिरहेका छन्। त्यसकारण पनि मेयरको टिकटको बलियो दाबेदार गम्भीर रहेको नेताहरुले नै मुख खोल्न थालेका छन् ।