मंगलबार १३ फागुन, २०८१ | Tuesday, February 25, 2025

अर्जुन दास हत्या प्रकरणः फरार चार जना पक्राउ

अर्जुन दास हत्या प्रकरणः फरार चार जना पक्राउ

काठमाडौं
कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलीप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।

महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ । बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएको थियो । पुस २ गते शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानले यस्तो भन्छः
प्रहरीका अनुसार माघ २९ गते आफ्नो मोबाइल हराएपछि कमल साउदले सुमित साउदमाथि शंका गरेका थिए। त्यसपछि उनले सुमितलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। सुमित कुटिएपछि मनोज भण्डारी र बमबहादुर बोहराले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागू औषध चोरी गरेर जंगलमा लुकाएका थिए। पछि कमल साउदको मोबाइल अर्जुन दासले चोरेको पत्ता लगाइ सुमित साउदले मोबाइल कमललाई फिर्ता गरे। र, अर्जुनलाई कुटपिट गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

कमलको मोबाइल चोरी गर्ने र सुमितलाई कुटपिट गरेको घटनाका मुख्य दोषी अर्जुन दासलाई देखाएर मनोजसहित उनको टोलीका सदस्य सुमित, बम बहादुर बोहरा, सुशील मयाल, दिलीप दास, बादल वि।क। र करण दर्नालले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाए।

पुस २ गते बेलुका ६ बजे अर्जुन र उनलाई कुटपिट गर्ने योजना बनाएको समूह लागु औषध सेवन गर्न अमरावती सामुदायिक वनमा भेला भए। सबै जनाले लागु औषधको सेवन गरिसकेपछि अर्जुन दासलाई मिलेर कुटे। उनलाई हातखुट्टा बाँधेर राखे। त्यसको करिब ५ घण्टा पछि उनीहरूले अर्जुनको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। सबैजनाको योजना अनुसार सुशील मयालले उनीहरूलाई खुकुरी उपलब्ध गराएर घर फर्किए। राति ११ बजे मनोज भण्डारी लगायतको समूहले अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रहार गरेको प्रहरीको दावी छ। उनको टाउको छिनाएर शरीरभन्दा २ फिट टाढा राख्दै सबैजना फेरि लागु औषध सेवन गर्न थाले। यसरी उनीहरु रातभरी घटनास्थलमा नै बसेको प्रहरी अनुसन्धानमा खुलेको छ।

तीन गते बिहान ५ बजे मनोज भण्डारी, बादल विक, दिलीप दास, बमे बोहरा, सुमित साउद र विवेक सिंह भारतको दिल्लीतर्फ फरार भए। कनकलाल विक, करण दर्नाल, सुशील मयाल र उनको एक जना साथी कैलालीमै लुके। भारतका विभिन्न शहरमा लुक्दै आएका सुमित, मनोज, दिलीप र बमे लाई बिहीवार महानगरीय अपराध महाशाखाको टोलीले रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहिया नजिकै नेपाल भारत सीमाबाट पक्राउ गरेको हो।