म्यादी प्रहरीलाई सम्मान जनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं
गृहमन्त्री बालकृष्ण खाणले पालिका चुनावका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न आग्रह गरे।
आज गृह जिल्ला आउनुभएका गृहमन्त्री खाणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले पालिका चुनावमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारीलगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिए ।
उनले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदानस्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरे । उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अतिसंवेदनशील, संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
प्रतिक्रिया