बुधबार २८ फागुन, २०८१ | Wednesday, March 12, 2025

काठमाडौंमा बिहानबाटै वर्षा, यस्तो रहने छ आजको मौसम

काठमाडौंमा बिहानबाटै वर्षा, यस्तो रहने छ आजको मौसम

 

काठमाडौं
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आइतवार बिहानैबाट वर्षा शुरु भएको छ। मध्यरातिसमेत वर्षा भएको र विभिन्न स्थानमा पनि हाल वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनायो।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भएको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

हाल वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनायो। ‘देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ,’ महाशाखाको बुलेटिनमा भनिएको छ, ‘देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।’

राती केही स्थानमा मौसम सफा हुने भए पनि अधिकांश स्थानमा वर्षा हुने जनाइएको छ। ‘राती प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’