मंगलबार २७ फागुन, २०८१ | Tuesday, March 11, 2025

त्यसपछि सशस्त्रका ४ सय घुमुवा तानिए

त्यसपछि सशस्त्रका ४ सय घुमुवा तानिए

काठमाडौं
सादा पोशाकमा (घुमुवा) खटिएर सूचना संकलन गर्दै आएका चारसय घुमुवालाई सशस्त्र प्रहरी बलले फिर्ता गरेको छ। हरेक जसो युनिटले सादा पोशाकमा घुमुवा खटाउँदै आएपछि विकृति बढेको भन्दै सशस्त्र हेडक्वाटरको निर्देशन धमाधम घुमुवा प्रहरी हटाउन थालिएको हो।

सादा पोशाकमा खटिएका चारसय घुमुवा प्रहरीलाई सम्बन्धित कार्यालय तानेर नियमित ड्युटीमा लगाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले जानकारी दिए।

खासगरी तराईका जिल्लाहरूमा सशस्त्रका युनिटहरूले घुमुवा प्रहरी खटाउँदै आएका थिए। सूचना संकलनका लागि भनेर खटाइएका घुमुवा प्रहरीहरू अवैध असुली लगायतका धन्दाहरुमा लाग्ने गरेको गुनासो आएपछि सशस्त्र आईजीपी राजु अर्यालको निर्देशनमा घुमुवा हटाउन थालिएको हो।

आईजीपीमा बढुवा भएको केही समयमै अर्यालले इन्टेलिजेन्स ब्यूरोबाट खटिएका बाहेकका घुमुवा हटाउन भन्दै सबै प्रहरी कार्यालयलाई परिपत्र गरेका थिए। उक्त परिपत्र पश्चात अहिलेसम्म चारसय घुमुवा प्रहरीलाई हटाइएको प्रवक्ता खड्काले बताए।

चुनावको पूर्व सन्ध्यामा प्रदेश २ को छिन्नमस्ता बाहिनीबाट खटिएका चार जना घुमुवा प्रहरीविरुद्ध पक्राउ पूर्जी नै जारी भएको थियो। हतियार किन्ने डिल गरेर पक्राउ गर्ने योजना सशस्त्रका घुमुवाले बनाएका थिए।

तर, सशस्त्रले पक्राउ गर्नु अगावै हतियार लिएर आएका भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गर्यो। त्यसपछि पक्राउ परेका व्यक्तिले हतियार कारोबारमा सशस्त्रका घुमुवाको पनि संलग्नता भएको बयान दिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गराउन बारा अदालतलाई अनुरोध गरेको थियो।

अदालतले पनि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। अनुसन्धानको क्रममा उनीहरूले गुड फेथमा रहेको काम गरेको पाइएको भन्दै मुद्दा चलाउने तयारी भएको स्रोतले जनाएको छ।

उक्त घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरी हेडक्वाटरले इन्टेलिजेन्स तालिम लिएका बाहेकका व्यक्तिलाई सादा पोशाकमा खटाउन नपाउने निर्णय गरेको छ। अब सादा पोशाकमा खटाउनै परे इन्टेलिजेन्स तालिम गरेका मात्रै खटिने सशस्त्र हेडक्वाटरले जनाएको छ।