मंगलबार २७ फागुन, २०८१ | Tuesday, March 11, 2025

विद्यासुन्दरलाई सम्मान

विद्यासुन्दरलाई सम्मान

काठमाडौं
नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । वल्ड नेवाः अर्गनाईजेशन नेपाल च्याप्टरले शुक्रबार राजधानीमा आयोजित नेवाः पहिचान र विविध आयाम विषयक राष्ट्रिय गोष्ठीमा सम्मान गरिएको हो।

सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाई शाक्यलाई सम्मानपत्र प्रदान गरे । यस अघि नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले शाक्यलाई फुलमाला लगाई दिए । समारोहमा मन्त्री श्रेष्ठले मातृभाषाको माध्यमबाट पठाउने पाउने कानूनी सुनिश्चितताको लागि सदनमा आफूले लडेको उल्लेख गर्दै सोही कानून प्रावधानलाई समेत शाक्यले नै मेयर हुँदा मुलुकमै पहिलो पटक महानगरपालिकाले ‘येँ देय् म्हसिके’ (काठमाडौं चिनौं) स्थानीय पाठ्यक्रम बनाएर नेपाल भाषाको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन कार्यको शुरुआत गरेको बताए ।

महानगरपालिकाको सो कार्यलाई हेरेर विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा बाहुल्य रहेको स्थानीय भाषाबाट स्थानीय पाठयक्रम बनाएर पढाउने कार्य शुरु गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पहिचान, भाषा, संस्कृति नै राष्ट्रियता भावना वृद्धि गर्ने महत्वपूर्ण आयाम रहेको पनि धारणा राखे । मन्त्री श्रेष्ठले शाक्य मेयर छँदा संस्कृति सम्पदा जोगाउन गरेको कामको खुलेर प्रशंसा गरे । सोही अवसरमा नेपाल भाषाको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका नागरिक अभियन्ता शाक्य सुरेन (सुरेन्द्रमान शाक्य) लाई पनि सम्मान गरिएको थियो ।

समारोहमा महानगरपालिका निर्वतमान मेयर शाक्यले आफू सानैदेखि भाषिक र सांस्कृतिक समानताको आन्दोलनमा लागेकोले यस क्षेत्रका मुद्दा, भावना चाहनासंग परिचित भएकोले मेयर हुँदा सबैको सामूहिक प्रयासमा त्यसलाई कार्यरुप दिन अधिकत्तम प्रयास गरेको बताए । ‘ हिजोलाई सम्झिएर, इतिहासलाई बुझेर र भविष्यको आकंलन गरी संस्कृति, सम्पदा, भाषा, साहित्यको क्षेत्रमा नीतिगत रुपमा नै काम अघि बढाएका छौं।त्यसैको धरातलमा टेकेर अहिले झन्डै ८० प्रतिशत नीति तथा कार्यक्रममा समेटिएको छ ।’ उनले भने ‘ मैले भन्दै आएको जनताको कमन सेन्स, चाहनाको आधारमा नीतिगत रुपमा सम्बोधन गरिसकेको कार्यक्रमलाई उल्टाउने काम गरेमा म चुपचाप बस्दिन ।’

महानगरपालिकाको अहिलेको जनप्रतिनिधिले राम्रो काम गर्न चाहेमा आफू विरोध नभई सहजीकरण तयार रहेको पनि शाक्यले बताए।शाक्यले दुई वर्षअघि आफ्नै कार्यकाल बोलपत्र आहवान गरे अनुरुप दुईवटा दमकल एक महिनाभित्र महानगरपालिकामा आइपुग्ने पनि बताए । सो अवसरमा नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले भाषा, संस्कृतिको लागि अहिलेसम्म भएका आन्दोलनको मर्मको दृष्टिमा शाक्यको पाँच वर्षको कार्यकाल उदाहरणीय र पुस्तौंसम्म सम्झिरहने विश्वास व्यक्त गरे ।