डा गोविन्द केसी काठमाडौं आउन मानेनन्
काठमाडौं । डा गोविन्द केसीलाई लिन धनगढी पुगेको नेपाली सेनाको स्काई ट्रक रित्तै काठमाडौं फर्किएको छ । उनले थप उपचारको लागि काठमाडौं आउन इन्कार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २०औँ पटक अनसनमा बसिरहेका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सरकारले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेको थियो । पछिल्लोपटक ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका डा केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछि काठमाडौं पठाउन सुझाव दिएका थिए ।
धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीलाई गएको बुधवार स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । डा केसीले यसअघि १९ पटक संघीय राजधानी काठमाडौं तथा देशका अन्य भागमा पुगी अनसन बसिसकेका छन् ।
प्रतिक्रिया