उजुरी परेका सन्दीप लामिछाने एक महिनापछि नेपाल फर्किए, विमानस्थलमै प्रहरीको नियन्त्रणमा
नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने आज बिहान नेपाल फर्किएका छन्। कतार एयरवेजको विमानबाट उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनी जहाजबाट उत्रिने वित्तिकै विमानस्थल प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।विमानस्थल प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौैलाई बुझाएको हो। घटनास्थल पनि गौशाला वृत्तकै क्षेत्रमा पर्ने भएकाले अनुसन्धान पनि गौशाला प्रहरीले गर्ने छ।
अब पक्राउ गरेको २५ दिनभित्र प्रहरीले सन्दीपको केस सरकारी वकिलमार्फत अदालतमा पुर्याउनुपर्ने हुन्छ। उजुरीअनुसार नै प्रमाण भेटिएको खण्डमा प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने छ। प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा मात्रै सरकारी वकिल कार्यालय मुद्दा अदालतमा टेकाउँछ। त्यसपछि अदालतमा बहसपछि लामिछानेलाई साधारण तारिकमा रिहा गर्ने, धरौटी माग गर्ने वा पुर्पक्षको लागि जेल चलान गर्ने एउटा आदेश अदालतले दिने छ।
उनी विरुद्ध भदौको तेस्रो साता एक किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन्। एक नाबालिग किशोरी ९१७ वर्षीया० माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।
भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए।
रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।
प्रतिक्रिया