आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

चेतनाथले बज्रबाराही चापागाउँ अस्पताललाई प्रदेश स्तरीय बनाए, एक सय शैयामा विस्तार गर्ने चाहना

चेतनाथले बज्रबाराही चापागाउँ अस्पताललाई प्रदेश स्तरीय बनाए, एक सय शैयामा विस्तार गर्ने चाहना

ललितपुर । ललितपुर क्षेत्र नं १ (२) वाग्मती प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा निवर्तमान सो प्रदेश सभाका सांसद चेतनाथ सञ्जेलले गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित बज्रवाराही चापागाउँ अस्पताललाई एक सय शैयामा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

दक्षिण ललितपुर तीन गाउँपालिकाका साथै गोदावरी नगरपालिका चार स्थानीय तहका मानिस सो अस्पतालमा उपचार गर्न आउने भएकाले उहाँले सो कुरा भन्नुभएको हो ।

चापागाउँमा रहेको सो बज्रबाराही अस्पताललाई प्रदेश मातहतको जिल्ला अस्पतालमा रुपान्तरण गर्न सफल भयौँ । अब नयाँ आधुनिक प्रविधिको थप सहित उत्कृष्ठ सेवा उक्त अस्पतालबाट दिने बनाउने भएको सञ्जेलको भनाइ छ । उहाँले भन्नुभयो, “यस अस्पतालमा ललितपुरका ६ वटा स्थानीय तह मध्ये ४ स्थानीय तहको केन्द्रबिन्दुमा पर्ने भएकाले यो तर्फ मध्यनजर गरी सेवा तथा सुविधा थप गर्नेछौँ ।”

यसैगरी आफूले अघिल्लो कार्यकालमा बाग्मती गाउँपलिकाको प्युटार स्थित थाङ्सिङटारमा १५ शैयाको ‘गाउँपालिका स्तरीय अस्पताल’ निर्माण सम्पन्न गरेको बताउँदै अब यसलाई पनि चिकित्सक सहितको सेवा सुरु गर्न आफ्नो पहल रहने सञ्जेलले दाबी गर्नुभयो ।
सञ्जेलले विगत ५ वर्षे कार्यकालमा आफूले पाँच वर्षमा दक्षिण पहाडी ललितपुरको विकास निर्माणका सवालमा ऐतिहासिक फड्को मारेको धारणा राख्दै सुरु गरिएका रणनीतिक बहुवर्षीय सडक आयोजना ,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका आयोजना पूरा गर्नु अबको आफ्नो एजेन्डा रहेको जिकीर गर्नुभएको छ ।

“यस अघि म प्रदेश सांसदको रुपमा रहँदा दक्षिण ललितपुरका सडक सञ्जालको स्तरोन्नति र सबलीकरणमा मेरो पहिलो प्राथमिकता रहे अनुरुप पहिलो वर्ष नै बाग्मती गाउँपालिकाको बगुवाबाट प्युटार, आश्राङ, गिम्दी ,ठुलादुर्लुङ हुँदै महाङ्काल गाउँपालिकाको चन्दनपुर जोड्ने सडक निर्माण र कालोपत्रको लागि साढे ३७ करोड रकम प्रदेश मार्फत विनियोजन गराउन सफल भएको थिए ।

त्यसैगरी बिर्खेधारा दलचोली शंखु इकुडोल हुँदै आश्राङ जोड्ने सडकको लागि १६ करोड ७७ लाख विनियोजन भई बहुवर्षीय योजनामा परेको, छपेलीबाट बाग्मती गाउँपालिका हुँदै इकुडोल जोड्ने पक्की सडक, चापागाउँको टाहाखेल बाट न्यौपानेगाउँ तथा विष्टगाउँ हुँदै बडिखेल जोड्ने सडक बहुवर्षीय योजनामा परेको छु”, उहाँले थप्नुभयो, “पर्यटन, संस्कृती, सामुदायिक भवन निर्माण, सहकरी भवन निर्माण, खानेपानी, सिँचाइ, कला लगायत विविध क्षेत्रमा मैले धेरै काम सुरु गरेको हुँदा ती कामलाई सम्पन्न गर्दै विकास निर्माण, जनताको सुखदुख र मानवीय आवश्यकतालाई परिपुर्ती गर्नका लागि मङ्सिर ४ मा आफू सहित एमालेका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्दछु ।”

यसैगरी शिक्षातर्फ प्युटारको कालीदेवी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा ‘बाली विज्ञान’ विषयको अध्ययन अध्यापन भईरहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा यस्तो एउटा पनि सामुदायिक विद्यालय छैनन् जहाँ उनको तर्फबाट सहयोग नभएको होस जस्लाई शैक्षिक गुणस्तर वृद्धिमा थप ध्यान दिने सञ्जेलले घोषणा गर्नुभएको छ ।