आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

यूएन मिसनमा जान सशस्त्र प्रहरीले १५ वर्ष सेवा अवधि पुर्‍याउनु पर्ने

यूएन मिसनमा जान सशस्त्र प्रहरीले १५ वर्ष सेवा अवधि पुर्‍याउनु पर्ने

काठमाडौं । 
राष्ट्र संघीय शान्ति मिसन फर्म्ड पुलिस युनिट ९एफपियू० मा जान सशस्त्र प्रहरीहरूले कम्तीमा १५ वर्ष सेवा अवधि पुर्‍याउनु पर्ने भएको छ। सशस्त्र प्रहरी बलले शान्ति मिसनमा जान आफ्ना कर्मचारीहरूले अनिवार्य रूपमा कम्तीमा १५ वर्ष सेवा दिएको हुनुपर्ने मापदण्ड बनाएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार मिसनमा जाने कर्मचारीहरूको छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन युएन एफपियू मिसन छनौट निर्देशिका( २०७९ संशोधन गरिएको हो। यसले लामो समयसम्म सेवा पूरा गरी मिसनमा जान अवसर नपाएका कर्मचारीहरू बढी लाभान्वित हुने उनले बताए।

यसअघि युएन एफपियू मिसन छनौट निर्देशिका(२०७१ अनुसार न्यूनतम ५ वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीहरू समेत मिसनमा सहभागी हुँदै आएका थिए।

लामो समयसम्म सेवा दिइसकेका सशस्त्र प्रहरीले अवसर पाउनुपर्ने भन्दै यो निर्देशिका संशोधन गरिएको हो। संशोधनका निम्ति देशभरिका इकाइहरूमा कार्यरत कर्मचारीबाट सुझाव समेत लिइएको थियो।

सशस्त्र प्रहरी बल नेपालले हालै मात्र लागू गरेको बडी मास इन्डेक्स ९बिएमआई० का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने भएको छ। जसअनुसार उचाइ अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट वञ्चित हुनु पर्नेछ।

समान मितिमा भर्ना तथा पदोन्नति भएका कर्मचारीहरूको हकमा अभिलेखमा उल्लिखित भर्ना तथा पदोन्नतिको जयेष्ठता क्रमअनुसार छनौट गर्ने प्रावधान राखिएको डिएसपी थापाले बताए।

यस्तै मिसनमा जान मापदण्ड पूरा गरेको कर्मचारी विभागीय कारबाहीमा नपरेको पनि हुनुपर्ने छ। आचरण विपरीत काम गर्नेलाई निर्देशिकामा तोकिएको अवधिसम्म मिसन छनौटमा वञ्चित गरिने छ। जसअनुसार एक पटक मात्र विभागीय सजाय पाएका कर्मचारीको हकमा सजाय फुकुवा भएको मितिले एक वर्ष पूरा भएको हुनुपर्ने र दुई वर्ष वा यसभन्दा बढी समय सजाय पाएकाको हकमा सात वर्ष पूरा भएको हुनुपर्ने छ।

साथै पदको ज्येष्ठतामा पर्न, बढुवा फारम नभर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई तीन वर्षसम्म उक्त अवसरबाट वञ्चित गरिने मुख्यालयले जनाएको छ। यसअघि बढुवा फारम नबुझाइ सिनियर हुने र मिसन जान खोज्ने प्रवृत्ति देखिएको थियो।

यस्तै एफपियू प्रि–एफप्याट परीक्षामा सिनियर अधिकृतहरूलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागी गराई उत्तीर्णमध्येबाट दर्जागतको ज्येष्ठताको आधारमा छनौट गरिने छ। परीक्षामा अनुत्तीर्ण भई तोकिएको संख्या अपुग भएमा ज्येष्ठता क्रमका आधारमा निकटतम जुनियरको पुनः परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।

मिसन छनौट भएका अधिकृतले विशेष कारण बाहेक (प्रसूति, किरिया, विपद्) मिसनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको वैकल्पिक उम्मेदवारलाई छनौट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिने छ। यसरी रद्द भएको कर्मचारी सो वर्ष सञ्चालन हुने अनपोल परीक्षामा सहभागी हुन पाउने छैन।

संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सन् २००३ डिसेम्बर १९ मा पहिलोपटक अफ्रिकी मुलुक लाइबेरियामा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपियू) खटिएको थियो। पछिल्लो पटक अफ्रिकी मुलुक दक्षिण सुडानमा सन् २०१४ जनवरी १७ देखि खटिइरहेको छ।

सशस्त्रका अनुसार अहिले उक्त मिसनमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा १८० जनाको टोली कार्यरत छ। हालसम्म सशस्त्र प्रहरी बलबाट ६१ वटा टोली गरी कुल ७ हजार ७२४ जनाले शान्ति स्थापनार्थ मिसनमा सेवा प्रदान गरिसकेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीको किडालमा हालै थप मिसनको रूपमा तैनाथीका लागि तयारी अवस्थामा छ।