३० वर्ष अघिदेखि रोकिरहेको बज्रवाराहीको नृत्य पूजा सञ्चालनका लागि श्रीमद्भागवत लगाइँदै
सुभानु आचार्य, ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवी मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ लगाइने भएको छ ।
सो मन्दिरको ३० वर्ष अघिदेखि रोकिरहेको नृत्य पूजा सञ्चालनका लागि उक्त काम अघि बढाउन लागिएको हो ।
आउँदो माघ १ देखि ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने भएको श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचायले बताए। उनले भने, “मन्दिरको नाममा रहेको जग्गा हराएपछि यहाँ नित्य पूजा हुन सकेको छैन । ३० वर्षअघि मन्दिरमा नित्य पूजा आदि हुन्थ्यो ।” मन्दिरको दैनिक पूजा चलाउन सामग्री समेत जुटाउन नसक्ने भएपछि सो काम रोकीदै आइरहेको कर्माचार्यले जानकारी गराए ।
सात दिन सप्ताहा महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकीएको कामलाई निरन्तरता दिने भएको समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले बताए । उनले भने, “मन्दिरमा अक्षयकोष खडा गर्न सक्याँै भने पूजा एवं पूजारीका साथै आवश्यक सामग्रीको व्यवस्थापन गर्न सहज हुनेछ ।” सो कामलाई सफल बनाउन नगरपालिकावासी लगायत इच्छुक व्यक्तिहरुलाई जिम्मेवारीका साथ कर्तव्यबोध गरिदिन न्यौपानेले अनुरोध गरेका छन् ।
सत धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रको समेत हित हुने विचार व्यक्त गर्दै मुलुकभरका नागरिकलाई सप्ताह महाज्ञान श्रवण गरी देवीको नृत्य पूजा सञ्चालनका लागि सहयोग गरिदिनका लागि अर्का सल्लाहकार डा नारायणहरी गजुरेलले आग्रह गरे । उनले भने, “मन्दिरको स्रोत अभावमा पूजा रोकिनु भनेको सबैको चासोको विषय बन्नुपर्ने देखिन्छ । परापूर्वकालदेखि चलिआएको कर्म रोकीनु राम्रो संकेत नभएकाले चलाउन जरुरी भएको गजुरेलले चासो व्यक्त गरेका छन्।
मन्दिरमा एक हप्ता पछि लगाइने भएको सप्ताहा महायज्ञ सफल बनाउन सबै नागरिकको महत्वपूर्ण भूमिका रहनेभएकाले कथा श्रवणका लागि मुलुकवासीलाई आफूहरुले सञ्चारमाध्यम मार्फत बज्रवाराहीमा निमन्त्रणा गरेको कालेश्वर संरक्षण सेवा समितिका अध्यक्ष चसुन्दर महर्जनको भनाइ रहेको छ ।
श्रीमदभागवत महायज्ञ लगाएर बज्रवाराहीदेवीको नित्य पूजा सञ्चालन गर्ने कुरा जाहेज रहेको जानकारी गराउँदै एकपटक सो पूजा अघि बढेपछि पुनः रोकियो रे भन्ने कुरा सुन्नुनपरोस भन्ने कुरा नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले राखे। उनले भने, “ धार्मिक काम गर्ने कुरा अघि सार्नु भएको छ । यो काम तपाईहरु गर्नुहोस तर अर्को पटक धेरै वर्ष अघिदेखि रोकिएको काम फेरी रोकियो रे १ भन्ने अवथा सिर्जना हुनु हुँदैन ।” देवीको सेवामा आफूले सक्दो सहयोग गर्न तत्पर भएको महर्जनको धारणा रहेको छ । काठमाडौं उपत्यकाको चार वाराही स्वेत, नील, धुम्वाराहीमध्ये बज्रवाराही भने खुबै नाम चलेकी देवी हुन । सो मन्दिर नेपालमा गजुर नभएको मन्दिरको नाममा पनि प्रख्यात रहेको छ ।
बज्रवाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनको बीचमा रहेको छ । नेपाल संवत ७१९ मा श्रराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेका र पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका कुरा अध्यक्ष कर्माचायले जानकारी गराए । उनले भने, “यस देवीको मन्दिर नेपाल सम्वत ८५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गर्नुभएको कुरा सुन्न पाइन्छ ।”
भक्तपुरका राजा नरेन्द्रदेव लडाइँबाट चापागाउँको बाटो हुँदै घर फर्कदा निकै रात परेछ । उनले बाटोमा पर्ने सो देवीको घरमा बास माग्न सिपाहीहरुलाई लगाएछन् । सिपाहीहरु डराएर फर्केछन् । ‘शिर माथिदेखि पाउसम्म सेतो कपडाले छोपिएको डर लाग्दो आकृतिमा सुतिरहेको छ सरकार’ भनी सुनाएपछि राजा आफै हेर्न गएछन् । राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रवाराहीको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि उसैअनुसार मूर्ति र खट बनाई जात्रा चलाइँदै आएको किंवदन्ती सुन्न पाइन्छ । त्यसैले हरेक वर्ष सो मन्दिरमा बडादशैंको दशमीका दिन ठूलो मेला लाग्ने गर्छ ।
बज्रवाराहीको जंगलमा विभिन्न जडीबुटी तथा वनस्पतिहरु प्रशस्त पाइन्छन् । सो देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएको पातहरु साँझ परेपछि मन्दिरतर्फ हावाले बगाएर ल्याउने र मन्दिरको काठ दाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न हुन्न भन्ने कुरा स्थानीय पुरुषोतम घिमिरेले बताए ।
प्रतिक्रिया