आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

प्रथम विश्व युद्धमा चमत्कार गरेका जितबहादुरका २ नातिले गरे चमत्कार

प्रथम विश्व युद्धमा चमत्कार गरेका जितबहादुरका २ नातिले गरे चमत्कार

 
काठमाडौं । ललितपुरको साविक लेले गाविस हाल गोदावरी नगरपालिका–५ का जितबहादुर घिमिरे प्रथम विश्वयुद्धका बेला नेपाली सेनाका क्याप्टेन थिए। त्यसबेलाअंग्रेजको पक्षमा लड्न बर्मा गएको नेपाली फौजको नेतृत्व जितबहादुरले गरेका थिए। उनले त्यसबेला युद्ध लडी आफ्नो फौजलाई जिताएर चमत्कारै देखाए । आज उनै जितबहादुरका नाती पुस्ताले नेपालको सुरक्षा निकायमा चमत्कारै गरी देखाएका छन् । उनकै दुई नाति उत्कृष्ट कमाण्डरका रुपमा अब्बल प्रदर्शन गरेका छन् । 

नाति मध्ये जेठा दिलिप घिमिरे नेपाल प्रहरीका एसपी हुन्। नाति कान्छा विकास घिमिरे सशस्त्र प्रहरी बलका एसपी हुन्। दुवै दाजुभाई उत्कृट कमाण्डरका रुपमा यो वर्ष पुरस्कृत हुनुभएको छ ।  

दिलिप अहिले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन् भने विकास ललितपुरको सशस्त्र प्रहरी बल दक्षिणकाली गणमा कार्यरत छन् । दिलिप नेपाल प्रहरीबाट दिलिप उत्कृष्टका रुपमा पुरस्कृत भएका छन् भने विकास सशस्त्र प्रहरीमा उत्कृष्टका रुपमा पुरस्कृत भएका छन् । 

दुवै सुरक्षा निकायको वार्षिक निरिक्षणको क्रममा दिलिप र विकास पुरस्कृत भएका हुन्। नेपाल प्रहरीले दिलिपले नेतृत्व गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामलाई उत्कृष्ट प्रहरी कार्यालय घोषणा गरेको छ । त्यसैगरी सशस्त्र प्रहरीले दक्षिणकाली गणलाई यस वर्षको उत्कृष्ट वटालियन घोषणा गरेको हो । 

सुरक्षा निकायमा समर्पित यो परिवारमा दुईजना मात्र होइन । जेठा दिलिप र कान्छा विकास बाहेक माहिला पवन घिमिरे नेपाली सेनामा लेफ्टिनेन्ट कर्णेल छन् । यो परिवारकी बुहारी अर्थात् विकासकी पत्नी डा समृद्धि वस्नेत सशस्त्र प्रहरी अस्पतालमा चिकित्सक छिन् । दिलिपकी पत्नी वसुन्धरा खड्का पनि नेपाल प्रहरीकी डिएसपी छिन् ।