आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

उपराष्ट्रपतिमा चारैजना भिड्ने

उपराष्ट्रपतिमा चारैजना भिड्ने

काठमाडौं । उपराष्ट्रपति पदका लागि चारैजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म कसैले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । 

उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जसपाबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।

जसपाका प्रमिला र रामसहाय तथा जनमतकी ममता गरी १० दलीय गठबन्धनबाट मात्र ३ जना उम्मेदवार हुने भएका छन् । प्रमिलाको उम्मेदवारी फिर्ता गराउने जसपाका प्रवक्ता मनिष सुमनले बताएका थिए ।

उनले भने, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो । कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’ उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।