नेपालीमा बचतभन्दा बढी खर्च गर्ने प्रवृत्ति छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् । राष्ट्र बैंकले सोमबार आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह २०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा उनले विश्वका अन्य मुलुकहरुको दाँजोमा नेपालमा बचत गर्नेभन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताए ।
बचतबाट नै आम्दानी बढ्ने भन्दै गभर्नर अधिकारीले राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट कमजोर रहेको जानकारी दिए । उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरुका बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेकोसमेत बताए।
‘हामीले फोर्सफुल्ली गरेको बचतको नेपाल रेट राम्रो छ । १० वर्षमा दोब्बर हुने खालका रेटहरु छन् । त्यो बचतले काम गर्छ । त्यसैले बचत अत्यन्तै जरुरी छ । त्यो रकम कतै बचत नगरेपनि खर्च गरेर जान्छ । बचत अनिवार्य हो’, उनले भने, ‘नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी खर्च गर्छौं । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो ।’
‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस्’ भन्ने नारासहित सोमबार ग्लोवल मनी विक २०२३ सुरु भएको छ । ग्लोवल मनी विकको यो एघारौं संस्करण हो ।
प्रतिक्रिया