आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

देविचौर स्थित वनमा अवैध रुपमा ढुंगा खन्न प्रयोग भएको मेसिन वन कार्यालयको नियन्त्रणमा

देविचौर स्थित वनमा अवैध रुपमा ढुंगा खन्न प्रयोग भएको मेसिन वन कार्यालयको नियन्त्रणमा

ललितपुर 
ललितपुरको देविचौर स्थित सार्वजनिक वनमा अवैध रुपमा ढुंगा खानी सञ्चालनमा प्रयोग भएको मेसिन (स्काभेटर) डिभिजन वन कार्यालय ललितपुरले नियन्त्रणमा लिएको छ । वन कार्यालयको सशस्त्र वन रक्षक सहितको टोलीले सो क्षेत्रमा छापा हान्ने क्रममा बा २ क ७७६९ नम्बरको हुन्डाई कम्पनी उल्लेख रहेको स्काभेटर नियन्त्रणमा लिएको हो । 

गोदावरी नगरपालिका–७ स्थित देविचौरमा लुकीछिपी अवैध ढुंगा खानी चलाईरहेको सूचनाका आधारमा वन कार्यालयको टोलीले फागुन ३० गते छापा हानेको निमित्त डिभिजनल वन अधिकृत रामकुमार भण्डारीले जानकारी दिए । अहिले मेसिन वन कार्यालयमा रहेको छ । हाल मेसिन र खानी सञ्चालनको विषयमा अनुसन्धान अधिकारी तोकेर अनुसन्धान थालिएको नि. डिभिजनल वन अधिकृत भण्डारीले बताए । 

‘हामीले अनुसन्धान अधिकारी नियुक्त गरी सकेका छौँ । यस विषयमा अनुसन्धान भईरहेको छ । मुद्धा अवश्य चल्छ । यो सामान्य प्रकृया नै हो । त्यसका लागि हामी  कटिबद्ध छौँ ।’, उनले भने । अनुसन्धान प्रकृया अगाडि बढिसकेकोले बाँकी केही अनुसन्धानले बताउने उनले बताए ।