गोदावरी–८ का तत्कालिन कार्यबाहक वडाअध्यक्ष धितालको कमाउ धन्दा, ४ आना जग्गादेखि लाखौँ रकम माग
गलत विवरण उल्लेख गरी नगरिकताको सिफारिस र सर्जमिन मुचुल्का खडा,
ललितपुर ।
गोदावरी नगरपालिका–८ डुकुछापका तत्कालिन कार्यबाहक वडा अध्यक्ष भिष्म धितालले झुठो विवरण उल्लेख गरी नागरिकता प्राप्तिको लागि सर्जमिन मुचुल्का खडा गरेकोदेखि सिफारिस गरिएको पाईएको छ । उनले डुकुछापस्थित दनुवार गाउँ बस्ने एक विवाहित महिलालाई अविवाहित भन्दै झूठो विवरण उल्लेख गरी नागरिकता प्राप्तिका लागि सिफारिस गरेको पाईएको हो ।
स्थानीय पाण्डु दनुवारको छोरी गिता दनुवारलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र प्राप्ति गर्न उनी अविवाहित भएको प्रमाणित गरिदिएका थिए । २०५४ फागुन २६ गते जन्ममिति भएको, अविवाहित भएको, उनले हालसम्म नागरिकता नलिएको, आवश्यक नपरेकोले हालसम्म नबनाएको जस्ता झुठो विवरण उल्लेख गरी तत्कालिन काबा वडा अध्यक्ष धितालको रोहबरमा प्रहरी प्रभाग वुंमतीमा २०७९ साउन ८ गते सर्जमिन मुचुल्का गरिएको थियो । यही मुचुल्का र सिफारिसको आधारमा गिता दनुवारले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २८–०१–७९–०२३७७ नम्बरको वंशजको आधारमा २०७९ साउन १३ गते नेपाली नागरिकताको प्रमाणपत्र लिईसकेकी छन् ।
स्रोतका अनुसार गिताले यसअघि स्थानीय एक पुरुषसँग विवाह गरेको र उनीहरु बीचको १ छोरी समेत रहेको खुलेको छ । गिताको श्रीमान विगत केही वर्षदेखि वैदेशिक रोजगारीमा रहेकोमा गिताले श्रीमानलाई छोडेर छोरीलाई लिई माइतीमा बस्दै आइरहेका छन् । गिताकी छोरी स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययन गर्दैछिन् । गिताको विषयमा कार्यवाहक वडा अध्यक्ष धिताल जानकार थिए । धिमाल जानकार हुँदा हुँदै गितासँग ४ आना जग्गा र जग्गा नदिए ७ लाख रुपैयाँ रकम माग गरिएको र रकम असुल समेत भईसकेको हुन सक्ने एक स्थानीय स्रोतले जानकारी दिए ।
धिताल वडाका सदस्य हुन् । वडा अध्यक्ष सुकुराम लामा छोरीको उपचारको लागि भारत जाँदा उनलाई कार्यबाहक तोकेका थिए । यस विषयमा धितालले गिता विवाहित रहेको पछि थाहा पाएको बताए । ‘गिता विवाहित भएको पछि मात्रै थाहा पाएँ । गल्ति नै भएको हो । उनीसँग जग्गा र रकम मागिएको छैन । म फेस गर्न तयार छु’, उनले भने ।
नेपाल नगरिकता ऐन, २०६३ अनुसार झूठो विवरण पेस गरे नागरिकताको प्रमाणपत्र लिनु गैर कानुनी मानिन्छ । कानुनले यस्तो कार्यलाई बन्देज पारेको छ। झुठो विवरण पेस गरी लिईएको नागरिकता रद्द हुने गर्दछ । र दोषिलाई कानुनी कारबाहीको व्यवस्था ऐनमा गरिएको छ । ऐनको दफा २१ (५)मा दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा १५ हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ । दफा १२ मा कुनै नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ भनि उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका एक अधिकारीले यस विषयमा अनुसन्धान हुने जानकारी दिए ।
प्रतिक्रिया