सोमबार २१ जेठ, २०८१ | Monday, June 03, 2024

बूढानीलकण्ठको ‘हिट एन्ड रन’ मुद्दाः पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय

बूढानीलकण्ठको ‘हिट एन्ड रन’ मुद्दाः पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय

काठमाडौं । बूढानीलकण्ठको ‘हिट एन्ड रन’ मुद्दामा चालक पृथ्वी मल्ललाई चार वर्ष कैद र ४० हजार जरिबाना हुने भएको छ । मल्लले लापरबाही गरेर सवारी साधन चलाई पीडितको ज्यान गएको भन्दै उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उक्त फैसला गरेको हो । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ६ महिना कैद र १० हजार जरिबानाको फैसला सुनाएको थियो ।

तीन वर्षअघि बूढानीलकण्ठमा मल्लले मादक पदार्थ सेवन गरी चलाइरहेको कारले किचेर पैदलयात्री लीला देवकोटाको ज्यान गएको थियो । मल्लविरुद्ध सवारी तथा यातायात ऐन, २०४९ को दफा १६१ (२) बमोजिमको कसुरमा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको थियो । 

उक्त दफामा ुकसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारण तत्कालै वा सोही चोटको परिणाम स्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसरको मात्रा अनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेु व्यवस्था छ । 

तर, जिल्ला अदालतले उक्त घटनालाई भवितव्य ठहराउँदै ऐनको दफा १६१ (३) बमोजिमको कसुरमा सजाय तोकको थियो । सो फैसलाविरुद्ध पीडित पक्ष र सरकारी वकिलले पुनरावेदन दायर गरेका थिए । पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतले जिल्लाको मल्लविरुद्ध ऐनको दफा १६१ (२) बमोजिमको कसुर गरेको पुष्टि हुने भन्दै उनलाई दोषी ठहर गरेको थियो ।