हाम्रो मुख्य लक्ष्य भनेको आत्मनिर्भर र समृद्ध डुकुछाप निर्माण गर्ने हो–ललितपुर डुकुछापका कार्यबाहक वडाध्यक्ष, भिष्म धिताल
गोदावरी नगरपालिका–८, डुकुछापका कार्यबाहक वडाध्यक्ष भिष्म धितालसंग समसामयिक विषयमा गरिएको संक्षिप्त कुराकानी
तपाई लगायत निर्वाचित भएर १ वर्ष बित्यो । यो अवधीमा तपाईको वडामा कामहरु के कस्ता काम भए सम्झनु हुन्छ ?
सर्बप्रथम त, म यस अपरेसन काठमाडौंलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यहाहरुले मलाई यस मिडिया मार्फत मेरो वडाको बारेमा केही कुराहरु राख्ने मौका दिनु भएकोमा । यहाको प्रश्नमा हामी वडामा निर्वाचित भएर आइसकेपछी हामीले खहरेको छेउमा बस्दै आएको वडा कार्यालयलाई ब्यवस्थित ठाउँ कसेरीमा सारेर सेवा दिदैं आइरहेका छौं । सुबिधा सम्पन्न वडा कार्यालय भवन पनि बन्ने अन्तिम चरण्मा पुगेको छ । यसको लागि साथीहरु रातदिन खटिइरहनु भएको छ । हाम्रो श्रदेय वडाध्यक्ष शुक बहादुर लामा र वडा सचिव पनि सकेसम्म काम छिटो सक्न र प्रयोग हुने सरसामान गुणस्तरीय छ, छैन भन्ने कुराको अति नै चासोका साथ हेरिरहनु भएको छ । अर्को हाम्रो प्राथमिकतमा परेको स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद आदि यावत योजनाहरु छन । बिशेष गरी बाटोलाई एक नम्बरमा राखेका छौं । अति अप्ठ्यारा घुम्ती र ओरालोहरुलाई ढलान गर्ने कामहरु सम्पन्न भएका छन । खेलकुदमा क्षेत्रीय स्तरको फुटवल चौर र करातेमा सुबिधा सम्पन्न कर्भड हल बनाउनको लागि प्रदेश स्तरमा योजना सहित प्रस्ताव पेश गरिएको छ । अन्य सानोतिनो बिकास निर्माणका कामहरु हुँदै गरेका छन र अर्को महत्वपुर्ण काम भनेको हामीले वडामा सिष्टम बसालेका छौं । प्रमाण र कागजात पुगेर आएको काम आजै अहिल्यै सक्ने गरी सेवा प्रवाहमा कटिबद्ध भएर लागेका छौं ।
तपाईको वडामा नागरिकहरु सक्षम र स्वाबलम्बी बन्ने आधारहरु र सम्भावनाहरु के के देख्नु भएको छ ?
हाम्रो वडामा पर्याप्त कृषि क्षेत्र रहेको छ । कृषकहरुले मौसमी र बेमौसमी तरकारी खेतिहरु गर्दै आउनु भएको छ । स्थानीय स्तरमा उत्पादन हुने यस्ता तरकारीहरुको बजार हाम्रो सदरमुकाम लगनखेल लगायत स्थानमा पुग्ने गरेका छन । यद्यपी तरकारी वाली र उत्पादन सम्बन्धि पर्याप्त ज्ञानको अभाव, बजार बिश्लेषण, किटनासक औषधीहरुको प्रयोग जस्ता यावत कुराहरुको बारेमा आम कृषकहरुलाई बुझाउन सकिएको छैन । यस बारेमा प्याकेजमा तालिमहरु संचालन गर्ने योजना वडाको रहेको छ । हाम्रो रोजगारी र स्वाबलम्बी बन्ने आधार भनेको कृषि नै हो । सिंचाईको लागि पनि समबन्धित मन्त्रालयमा परियोजना प्रस्ताव बुझाएका छौं । हाम्रो वडाको भबिष्य कृषिमा नै छ । दैनिक रुपमा दुइवटा दुध डेरी मार्फत पर्याप्त मात्रामा दुध संकलन गरी उपत्यकामा खपत हुँदै आएको छ ।
तपाईहरुलाई काम गर्न कुनै त्यस्तो असहज परिस्थिती वा कतैबाट बाधा ब्यबधान खडा भएको त छैन नि ?
हामीलाई वडाको प्रसासनिक काम वा अन्य बिकास निर्माणका काम गर्न कुनै बाधा ब्यबधान अहिले सम्म भोग्नु परेको छैन । वडाका महत्वपुर्ण काम कारबाहीहरु संचालन गर्दा सर्बदलिय बैठक बसेर मात्र निर्णयहरु गर्ने गरिएको छ । केहि न्युजहरुमा कहिले कहीं हामीलाई सचेत गराउन हाम्रो बारेमा बिशेष गरी वडाध्यक्ष र मेरो कमी कमजोरीहरुलाई उजागर गरिदिने गर्नु भएको छ । यसबाट पनि हामीलाई सचेत हुनु पर्छ है भन्ने आभाष भएको छ । वडाअध्यक्ष वा मैले गर्ने सिफारीस, जन्मदर्ता, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकताको सिफारीस लगायतका कागजातहरु रित पुर्याएर कानुन बमोजिम मात्र दिने गरेका छौं ।
हामीले यसअघि तपाईसँग सम्बन्धित भएर प्रकाशन गरिएको समाचारको विषयमा केही भन्नु छ की ?
तपाईहरुले जुन समाचार प्रकाशन गर्नुभयो । त्यस समाचारमा भनिएको एउटा कुरा सत्य हो कि म कार्यबाहक वडाध्यक्ष थिए । हम्रो वडाध्यक्ष ज्यु छोरीको उपचारको लागि इन्डिया जानु भएकोले मैले कार्यबाहक चलाउदै आएको थिए । २०७९ साल साउन ८ गते बंशजको आधारमा नागरिकता प्राप्तिका लागि निवेदिका गीता दनुवारको सर्जिमिन मुचुल्काको प्रश्नमा उक्त मुचुल्का प्रहरी कार्यालयमा तयार गरी प्रहरीले नै उहाँको घर परिवारका सदस्यहरु, टोल छरछिमेकका मानिसहरु समेतलाई साक्षी राखि औठाछाप गर्न लगाई प्र.ना.नि राम चन्द्र लामिछाने ज्युले मलाई रोहवरमा बसिदिनुहोस भनि अनुरोध गर्नुभएको र मैले हाम्रो वडाध्यक्ष फर्केपछि उहाँले नै गर्नुहुन्छ सम्म पनि भनेको थिए । तर प्रहरी नै साक्षी बसि उहाँले नै सबै ब्यहोरा मिलेकै छ, वडाध्यक्षको आउने टुङ्गो छैन काम किन रोक्नु भनेपछी मैले पनि पढेर हेर्दा मनासिव देखि रोहवरमा सहि गरिदिएको हुँ । जहाँसम्म ७ लाख रुपैंया र ४ आना जग्गा मागेको भन्ने कुरा छ, यसमा कुनै सत्यता छैन । यदी कसैले यो प्रमाणित गर्छ भने म कानुन बमोजिमको सजाय भोग्न तयार छु । अर्कोकुरा निज नागरिकताको निवेदिका बिवाहित भन्ने कुरामा हालसम्म वडामा कसैसंग बिवाह भएको बिवाहदर्ता छैन, र स्वयं उहाँले नै मैले बिबाह गरेको छैन भन्दा भन्दै मैले तपाई बिबाहित नै हो भन्ने आधार पनि पुष्टि गर्न सकिन । यो मेरो सरोकारको बिषय पनि थिएन । उहाँले रितपुर्बक बंशजको आधारमा बाबुलाई साथै लिएर जिल्ला प्रशासन कार्यालयमा गई नागरिकता लिनु भएको हो । तसर्थ मलाई जुन आरोप लगाइएको छ, यसमा कुनै पनि सत्यता छैन । तपाईहरुले यो समाचार प्रकाशन गरेपछी म आफैं आश्चार्यमा परेको छु । अन्तमा यस बिषयमा यो भन्दा बढी भनिरहन नपर्ला ता कि म स्वयं सक्षम छु, मलाई सित्तैमा कसैको दुइ पैसाको लोभ लालच छैन र त्यस्तो गर्न जनप्रतिनिधि बनेको पनि हैन ।
अन्तिममा यहांको केही भन्नु छ कि ?
मेरो भन्नु यत्ति नै हो । हामीले गरेका कामबाट सेवाग्राहीहरु सन्तुष्ट हुन सकुन । केही त्यस्तो कमी कमजोरी भएमा बेलैमा सल्लह सुझावको अपेक्षा गरेका छौं । कुनै कानुन बिपरीतका हुन लागेका कामहरुको सन्दर्भमा यहाँहरु जस्तो मिडियाले स–प्रमाण हामीलाई खवरदारी गर्नुहोस ता कि हामी पनि बेलैमा सच्चिने मौका पाउँ । हाम्रो मुख्य लक्ष्य भनेको आत्मनिर्भर र समृद्ध डुकुछाप निर्माण गर्ने हो । समृद्धिको बाटोमा हामी सबैजना हातेमालो गर्दे अगाडी बढौं । यसबाट मात्र डुकुछापको समग्र बिकास सम्भव छ । यो कार्यमा हाम्रो गोदावरी नगर कार्यपालिकाबाट पनि पर्याप्त साथ सहयोग पाइरहेका छौं ।
प्रतिक्रिया