शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

दासढुंगामा रात्रिबस दुर्घटनाः १९ जना घाइते

दासढुंगामा रात्रिबस दुर्घटनाः १९ जना घाइते

 

काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस भरतपुरको दासढुंगामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान सवा ५ बजेतिर भरतपुर२९ दासढुंगा मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो । बस अनियन्त्रित हुँदा खसेर सडकबाट करिब १० मिटर तल रुखमा अड्किएको प्रहरीले बताएको छ । रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्न भने जोगिएको छ ।

बसमा करिब ४० यात्रु सवार रहेको प्रहरीले बताएको छ । प्रहरी घटनास्थलमा परिचालन गरिएको छ । १९ जना घाइतेलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको जिप्रकाले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको बताइएको छ ।