गोदावरी रंगशालाको फाईल अख्तियारमा
सुक्ष्म ढंगले अनुसन्धान गर्दै अख्तियार

ललितपुर ।
ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान थालिएको छ । रंगशाला अलपत्र पारी ढुंगा बेचेर करोडौं रकम अनियमित गरेको भन्दै कारबाही गर्न माग राख्दै उनीविरुद्ध १४ बैशाखमा उजुरी परेको थियो। हाल उनलाई केन्द्रमा राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ । २ हप्ता अघि मात्रै नगरपालिकाको रंगशाला सम्बन्धी सम्पूर्ण कागजात अख्तियारमा पुगेको अख्तियार स्रोतले जनाएको छ । गोदावरी नगरपालिकाका उच्च अधिकारीले पनि अख्तियारमा कागजात पठाईएको पुष्टि गरेको छ ।
नगरपालिकाको वडा नम्बर १० स्थित झ्यालुमटारको साविक पूर्णलालको ढुंगा खानीलाई रंगशालाको योजना अगाडि सारे पनि योजना देखाएर रंगशाला बनाउनुको सट्टा अवैध रुपमा ढुंगा उत्खनन गर्दै राज्य स्रोतको दोहन गरेको आरोप नगरप्रमुख महर्जन माथि लागेको छ ।
‘नगरपालिकाले रंगशाला बनाउन भन्दै विगत ५–७ वर्षदेखि योजना अगाडि सारिएको थियो । त्यस स्थान झ्यालुम्टार सामुदायिक वनको क्षेत्र पर्दछ । त्यस स्थानमा रंगशाला निर्माण गर्नका लागि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन स्वीकृत भईसकेको पाईन्छ तर जग्गाको भोगाधिकार भने अझैसम्म पनि नगरपालिकाले प्राप्त गर्न सकेको छैन । यसको बाबजुत पनि नगरप्रमुख गजेन्द्र महर्जनले अमुक ठेकेदारसँगको साँठगाँठमा उक्त स्थानमा अवैध रुपमा ढुंगा उत्खनन् गरी बिक्री निकासी गराउन सहज पारिरहेका छन् ।’ उजुरीमा उल्लेख गरिएको थियो ।
रंगशाला निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ आवश्यक पर्ने बताईएको छ । तर स्रोत खोजेर निर्माण थाल्नुको सट्टा नगरप्रमुख महर्जनले पदको दुरुपयोग गर्दै लोभ लालचमा परी रंगशाला निर्माणलाई भन्दा ढुंगा उत्खनन र बिक्रि निकासीमा ध्यान दिईरहेको आरोप छ । प्रतिस्पर्धामा ठेक्का खुलाई राजश्व दाखिला हुने गरी काम गर्नु पर्ने प्रकृया समेत मिचेर उपभोक्ता समिति बनाउने र त्यसको आवरणमा ठेकेदारसँगको मिलेमतोमा खुलमखुला रुपमा लुततन्त्र मच्चाइरहेको उजुरीमा उल्लेख गरिएको छ । ‘यसबाट करोडौँ रुपैयाँ रकम राजश्व दाखिला नभई अनियमितता भएको देखिन्छ ।’, उजुरीमा भनिएको थियो ।
प्रतिक्रिया