शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

सिनामंगलमा शंकास्पद वस्तु फेला, एक सन्दिग्ध व्यक्ति पक्राउ

सिनामंगलमा शंकास्पद वस्तु फेला, एक सन्दिग्ध व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पाइएको छ । नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिए ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ ।

नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिंदा स्थानीयले प्रहरीको समर्थनमा हुटिङ गरेका थिए ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो । काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।