शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

विमानस्थलबाट यसरी छुट्यो १०० किलो बढी सुन

विमानस्थलबाट यसरी छुट्यो १०० किलो बढी सुन

काठमाडौं । त्रिभुवन विमानस्थलबाट हिजो १०० किलो बढी सुन भन्सार पास भयो । विमानस्थलबाट बाहिरिएर गन्तव्यमा लैजाने क्रममा राजस्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको थियो । यस विषयमा अनुसन्धान जारी छ । 

चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । रेडी ट्रेड प्रालिले ८ वटा कार्टुनमा हालेर ‘ब्रेक सु’ का नाममा सुन भित्र्याएको हो । उक्त सुन जुलाई १६ देखि १७ सम्म त्रिभुवन विमानस्थलको गोदाममा बसेको थियो ।

१८ जुलाई ०२ः२२ मा गोदामबाट एक्सरे भएर सुन बाहिर गएको देखिन्छ । सामान पास गराउने भन्सार प्रतिनिधिले ३ जना भन्सार एजेन्टको कार्ड प्रयोग गर्ने गरेको स्रोतले बताएको छ ।

विदेशबाट ल्याइएका सामान लामो प्रक्रिया पूरा गरेरमात्रै त्रिभुवन विमानस्थलबाट छुट्ने गर्छ । विदेशबाट सामान आएपछि सम्बन्धित एयरलाइन्सले त्रिभुवन विमानस्थलको गोदाममा ल्याइदिन्छ । त्यसपछि सामान आयातकर्ताले भन्सार एजेन्ट वा भन्सार प्रतिनिधिलाई आफ्नो सामान भन्सार जाँचपास गर्न जिम्मा दिने गर्छन् ।

आयातकर्ताले भनेअनुसार सामान भन्सार जाँचपास गराउने भन्सार एजेन्ट वा प्रतिनिधिले प्रज्ञापनपत्र भरेर भन्सारमा दिन्छन् । त्यसमा नै सामान कसको हो, के–के सामान छ, कति छ र कुन गाडीबाट गन्तव्यमा लाने हो भन्ने कुरा उल्लेख भएको हुन्छ ।

त्यसैअनुसार भन्सार कार्यालयको सिस्टमले मेसिनबाट सामान भनेअनुसार ठीक छ कि छैन भनेर हेर्छ । त्यसपछि भन्सारको जाँचकीले सामान रुजु गरेर हेर्ने गर्छन् ।

भन्सारको जाँचकीले प्रज्ञापनपत्रमा उल्लेख भएअनुसारको सामान छ भनेपछि पुनः भन्सारका नासु, अफिसर र प्रमुख भन्सार अधिकृतले पनि आयातकर्ताले उल्लेख गरेको सामान ठीक छ कि छैन भनेर हेर्ने गर्छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले एक्सरे गरेर अवैध सामान छैन भन्ने एकिन गरेरमात्रै सामान जाँचपास हुने विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका खनालले बताए ।

एक्सरेमा नदेखाउने गरेर सुनमा कुनै केमिकल प्रयोग गरेको वा तरिका अपनाइएको भनेर अध्ययन र अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो ।

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई पक्राउ गरिएको छ । अन्य २ जनाको नाम खुलेको छैन ।