ललितपुर बागमती सब–डिभिजन वन कार्यालयको नवनिर्मित भवन प्रदेश वन मन्त्री खड्काबाट उद्घाटन
काठमाडौं ।
डिभिजन वन कार्यालय ललितपुर अन्तर्गतको बागमती सब– डिभिजन वन कार्यलयको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । बागमती प्रदेश का वन तथा वातावरण मन्त्री मसिना खड्काले आइतबार उदुघाटन गरेकी हुन् ।
उद्घाटन गर्दै मन्त्री खड्काले कार्यालयले जंगल र जनतालाई समुचित रुपमा समेटिनु पर्नेमा जोड दिनु भयो । ‘वन कार्यालय जंगल र जनतालाई समेट्नु पर्दछ । यसमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने देखिन्छ ।’, उनले भनिन–‘वन र स्थानीय सरकार आपसी सहकार्य गरी हरेक विकास निर्माणदेखि वन उपयोग गरेर आर्थिक उपार्जनमा जान जोड दिन्छु ।’
त्यस्तै बागमती गाउँपालिका प्रमुख बीरबहादुर लोप्चनले कार्यालयले नवनिर्मित भवन पाएपछि सेवा प्रभावकारी ढंगले अघि बढ्नेमा विश्वस्त रहेको धारणा राखे । साथै उनले बागमतीमा रहेको खएर र सालको व्यवस्थापन र यसबाट आर्थिक उपार्जनका लागि बजेतदेखि नीति नियममा सहयोग गर्न वन मन्त्रीसँग आग्रह समेत गरे । कार्यक्रममा उपाध्यक्ष, भक्तबहादुर दर्लामी मगर, वडा ४ का वडा अध्यक्ष रामकुमार लामा, वडा १ का वडा अध्यक्ष ज्ञानबहादुर लो लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा निमित्त डिभिजन वन अधिकृत रामकुमार भण्डारीले नवनिर्मित कार्यालयबाट चुस्त रुपमा सेवा दिईने प्रतिवद्धता जनाउँदै त्यहाँको ७ वटा वनमा खएरको रुख रहेको र त्यसबाट राम्रो आम्दानी गर्न सकिने भएकोले त्यसतर्फ नीतिगत रुपमा सहजीकरण गरिदिन मन्त्री खड्कासँग आग्रह गरे । ‘यस बागमती सब–डिभिजन अन्तर्गत ५५ वटा सामुदायिक वन रहेको छ । जसमा ७ वटामा मात्रै खएरको वन छ । ३५ हजार वटा बोट अगर उड रोपेका छौँ । यसबाट राम्रो आमदानी गर्न सकिन्छ । तर यसलाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ । बजेट र नीतिगत अप्ठ्यारा छन् यसलाई मन्त्रि ज्यूले सहजिकरण गरिदिनु हुन अनुरोध छ ।’, नि.डि.व. अधिकृत भण्डारीले भने ।
प्रतिक्रिया