इलाका प्रहरी बुटवलका तत्कालीन डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो ।
२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैंसँग राखेका थिए । त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले १८ लाख रुपैयाँ विगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दिएको प्रवक्ता दाहालले जानकारी दिए । यो घटनामा प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा पनि उनी दोषी देखिएसँगै प्रहरी सेवाबाट अयोग्य हुनेगरी निष्कासन गरेको छ ।
प्रतिक्रिया