टोले गुण्डा रिगलको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
काठमाडौं । बाँकेका टोले गुण्डा योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ सकिएकाले आज फैसला आउने सर्वोच्च प्रशासनले जनाएको छ ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढकाल कारागारबाट मुक्त भएका थिए ।
तर ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै गत १७ असोजदेखि माइतीघरमा अनशन सुरु गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।
दशैं बिदामा अनसन स्थगित गरेकी उनले ११ कात्तिकदेखि फेरि रिले अनसन जारी राखेकी छन् । १३ कात्तिकमा रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने क्रममा बेहोस भएपछि उनलाई बीर अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया