शुक्रबार १८ माघ, २०८१ | Friday, January 31, 2025

बालकुमारी गोली काण्डः ललितपुरका सीडीओ गृह मन्त्रालय र प्रहरी प्रमुख हेडक्वार्टर तानिए

बालकुमारी गोली काण्डः ललितपुरका सीडीओ गृह मन्त्रालय र प्रहरी प्रमुख हेडक्वार्टर तानिए

 

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । बालकुमारी घटना भएको दोस्रो दिन गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ भने ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय हेडक्वार्टर तानेको हो ।

उक्त घटनाका सन्दर्भमा छानविन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ ।

छानविन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारयण भट्टराईले जानकारी दिए ।

घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको र उक्त घटनाप्रति दुःख पनि व्यक्त गरेको छ । सबै नागरिककले आफ्ना विषय शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको पनि मन्त्रालयले जनाएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका वडा नं ८ बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाउने मृतकप्रति मन्त्रालयले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।