शनिबार ०५ माघ, २०८१ | Saturday, January 18, 2025

रविलाई ६ दिन हिरासतमा राख्न अनुमति

रविलाई ६ दिन हिरासतमा राख्न अनुमति

पोखरा । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । अदालतले पक्राउ परेको मितिबाट ६ दिन हिरासतको अनुमति दिएको हो । यस हिसाबले रवि अब थप तीन दिन हिरासतमा रहनेछन् ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले पक्राउ परेको मितिबाट हिरासत अवधि गणना गरी ६ दिनको अनुमति दिइएको बताए । यसबीचमा अदालत बन्द भएका कारण एकैपटक म्याद थप गर्दा ६ दिनको अनुमति दिइएको उनले बताए ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।