सोमबार २५ चैत, २०८१ | Monday, April 07, 2025

एमसीसीको अनुदान रोकियो

एमसीसीको अनुदान रोकियो mcc

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान रोकिएको छ। अमेरिकी सरकारको गत जनवरी २० को निर्णय अनुसार एमसीसीको अनुदान रोकिएको अर्थ मन्त्रालयले जनाएको छ। एमसीसीले फागुन २ गते इमेलमार्फत एमसीसी रोकिएको जानकारी दिएको हो।

‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ’अर्थ मन्त्रालयले भनेको छ।

अर्थ मन्त्रालयको अन्तरास्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव डोलेन्द्र शर्माका अनुसार हालका लागि अस्थायी रूपमा यो सहायता रोकिएको हो। एमसीसी अमेरिकी संसदबाटै पारित परियोजना दुई देशका सरकारबीच सम्झौता भएको भएकाले ९० दिनपछि निरन्तर रहला भन्ने आफूहरूको अनुमान रहेको पनि उनले बताए।

‘संसारभरिको सहायता रोकिएअनुसार नै नेपालमा सञ्चालित एमसीसी सहायता पनि ९० दिनका लागि स्थगन गर्न पत्रआएको हो। त्यसपछि के हुन्छ थप निर्णय होला’ उनले भने। २०७४ सालमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको वासिङ्टन डीसीमा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशसँग ५०० मिलियन डलर अनुदान सहायता लिने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए। एमसीसी नेपाल कम्प्याक्ट २०८० भदौदेखि कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन टु फोर्स) गरेको थियो।