सोमबार २५ चैत, २०८१ | Monday, April 07, 2025

आज सर्वदलीय बैठक बस्दै, राप्रपालाई नबोलाइने

आज सर्वदलीय बैठक बस्दै, राप्रपालाई नबोलाइने

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठकमा गणतन्त्र पक्षधरका दललाई मात्र आमन्त्रण गरिएको छ ।

साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकका लागि शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबारको आन्दोलन र राजावादीहरूको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि प्रहार भएको ठहरसहित गणतन्त्र पक्षधर एकठाउँमा उभिनुपर्ने प्रमुख दलका नेताहरूले बताउँदै आएका छन् । यही सन्दर्भमा समसामयिक राजनीतिक घटना र भावी रणनीतिबारे छलफल गर्न शीर्ष नेताहरू जुट्न लागेको बताइएको छ ।

यसैक्रममा प्रधानमन्त्री ओलीले र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवादसमेत भएको छ ।

कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोधसमेत गरिरहेका बेला बालुवाटार गणतन्त्रको कित्तामा रहेका दलहरूसँग सामूहिक छलफल गर्न लागिएको हो ।