आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

त्यसपछि पक्राउ परे ९२ फरार प्रतिवादी

त्यसपछि पक्राउ परे ९२ फरार प्रतिवादी

काठमाडौं
चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो।
पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ।
प्रहरीले यस अवधिमा २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको थियो। फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ।
प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फर्छ्यौट भएको र १०२ मुद्दा फर्छ्यौट हुन बाँकी छ। प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छ। पक्रिएकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जनाएको छ।
चार महिनाकै अवधिमा ११ जनालाई लागुऔषधसहित पक्राउ परेका र उनीहरूबाट ११४ थान डाइजेपाम, ११४ थान फेनरागन, ११३ थान नुफिन र १० किलो ८५५ ग्राम गाजा बरामद भएको छ। प्रहरीले सोही अवधिमा १५५ रोपनी क्षेत्रफलमा उम्रिएका २२ हजार ३०७ गाजाका बोट नष्ट गरेको जनाएको छ।
पाँच वटा जुवा मुद्दामा ६८ जनालाई पक्राउ गरी ११ लाख ७५ हजार ९१० नगद बरामद गरेको प्रहरीले कोरोना भाइरस नियन्त्रणका लागि तपाईंको मास्क खोई अभियानअन्तर्गत ४७ वटा कार्यक्रममार्फत नौ हजार ५३५ लाई मास्क वितरण गरेको थियो।
अवैध नदीजन्य पदार्थ नियन्त्रणतर्फ चार महिनाको अवधिमा एक डोजर, दुई स्काभेटर, दुई जेसिबी, दस टिपर र ३७ ट्याक्टर गरी ५२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर चार लाख ७६ हजार ५०० जरिवाना असुल गरिएको पनि बताइएको छ।