आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

अनलाईन पत्रकारलाई पाँच महिना कैद

अनलाईन पत्रकारलाई पाँच महिना कैद

काठमाडौं
जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ। सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो।

‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई उक्त सजाय तोकिएको हो।

उनले आफ्नो अनलाईनमा युवतीको पहिचान खुल्नेगरी तस्विर र नामसहित समाचार प्रकाशन गरेका थिए। यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्ध फेसबुकमा स्टाटस लेखेका थिए।

बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु।’

पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।

संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ।

‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो,’ फैसलामा भनिएको छ।