शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

जाँडले मात्तिएका एसपी मध्यराति कांग्रेस नेताको घरमै गएर पेस्तोल ताकेपछि…

जाँडले मात्तिएका एसपी मध्यराति कांग्रेस नेताको घरमै गएर पेस्तोल ताकेपछि…

काठमाडौं
जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालिन एसपी हिराबहादुर पाण्डेले कांग्रेस नेताको घरमा गएर बितण्डा मच्चाएको घटना बाहिर आएको छ । आफूलाई जिल्लाबाट सरुवा गराएको विषयलाई लिएर उनले नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवको घरमा मध्यराति पुगेर गोली हान्छु भन्दै पेस्तोल निकालेको बताइएको छ ।

यादवले सोमबार विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरेका एसपी पाण्डेले आइतबार राति साढे १ बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर आफूलाई अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन्।

‘गालीगलौज गर्दै तिमीले सरुवा गरायौ, म तिमीलाई छाड्दिन, गोली हानिदिन्छु भन्दै पेस्तोल तेर्साएर आक्रमण प्रयास गरियो,’ कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘तत्कालै नजिकको प्रहरी चौकीहरूबाट आएका प्रहरी प्रशासनले उक्त आक्रमण प्रयासलाई विफल गराउँदै घर अगाडीबाट एसपी पाण्डेलाई गाडीमा लिएर गए।’

जनताको शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरी अधिकारीले नै ज्यान मार्ने धम्की दिएको घटनाप्रति कांग्रेस सिरहाले आपत्ति जनाएको छ। प्रहरीको धम्कीप्रति विरोध जनाउँदै कांग्रेस कार्यकर्ताहरूले सोमबार मध्यान्ह पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाइल खण्डमा एक घण्टासम्म अवरोध गरेका थिए।
कांग्रेस सिरहाले एसपी पाण्डेलाई अबिलम्ब सेवाबाट बर्खास्त गर्न पनि माग गरेको छ। प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ। एसपी पाण्डे ८ असार २०७८ मा सरुवा भई जिल्ला प्रहरी कार्यालयमा गएका थिए।