शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

कांग्रेस नेतालाई पेस्तोल देखाउँदै धम्काउने एसपी पाण्डे निलम्बित

कांग्रेस नेतालाई पेस्तोल देखाउँदै धम्काउने एसपी पाण्डे निलम्बित

काठमाडौं
प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनलाई तीन महिनाका लागि निलम्बन गरेको हो । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । ‘एसपी पाण्डेमाथि अनुसन्धान जारी छ,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।’

पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ । कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।