शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

नारायणहिटीमा बतास समूहले बनाईरहेको संरचना अबैधः छानबिन समिति

नारायणहिटीमा बतास समूहले बनाईरहेको संरचना अबैधः छानबिन समिति

काठमाडौं
बतास समूहले नारायणहिटी दरबार संग्राहलयभित्र निर्माण गरेको संरचना अवैध भएको छानबिन समितिले ठहर गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानबिन समितिले संरचना निर्माण अवैध रहेको भन्दै रोकी सम्बन्धित निकायबाट कारबाही हुनुपर्ने सुझाव दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी छानबिन समितिले आधिकारिक निकायबाट बतास समूहको बी म्यानेजमेन्ट प्रालिले नक्सा पास र आधिकारिक स्वीकृति नलिई निर्माण कार्य गरेको उल्लेख गरिएको छ । ‘आधिकारिक निकायबाट नक्सा पास नगरी एवम् निर्माण स्वीकृति नलिई र मन्त्रालय एवम् विकास निर्माण समितिको पूर्ण स्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरु निर्माण भएको देखिन्छ ।’

छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘दोस्रो पक्षको रुपमा रहेको बी म्यानेजमेन्ट प्रालिले अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिइ नयाँ संरचनाहरु निर्माण गरेको देखिएकाले निर्माण कार्य तत्काल रोकी सम्बन्धित निकायबाट आवश्यक कारबाही हुनुपर्ने देखिन्छ ।’

प्रतिवेदनमा संग्राहलयभित्र क्यान्टिनरक्याफ्टेरिया सञ्चालनका लागि अनुमति दिएको भएपनि क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको नपाइएको उल्लेख गरिएको छ । सम्झौता विपरीत काम हुँदा पनि विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र सम्वर्द्धनका लागि जिम्मेवारी पूरा नभएको पनि प्रतिवेदनमा ठहर गरिएको छ ।