आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

नारायणहिटी ठेक्का प्रकरणः दाहालमाथि कारबाही गर्न अख्तियार र प्रहरीलाई पत्राचार

नारायणहिटी ठेक्का प्रकरणः दाहालमाथि कारबाही गर्न अख्तियार र प्रहरीलाई पत्राचार

काठमाडौं
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानबीन गर्न कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई सिफारिस गरेको छ ।

दाहालले नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जमिन क्याफटेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिएका थिए । बतास समूहले नयाँ संरचना बनाएपछि विवाद बाहिर आयो । र, मन्त्रालयले गरेको छानबीनका क्रममा दाहालले प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरेको सम्झौता गरेको पाइएको छ ।

बतास समूहले सम्झौताभन्दा बढी करीब १४ रोपनी जमिनमा संरचना निर्माण गर्दा पनि दाहालले नारायणहिटी संग्रहालय परिसरको सम्पत्तिको संरक्षण र सम्वर्द्धनको जिम्मेवारी पूरा नगरेको छानबीन समितिको ठहर छ । छानबीन समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार दाहालले कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् ।

तर मन्त्रालयले भने उनको राजीनामा स्वीकृत नगर्दै छानबीन समितिको सिफारिसका आधारमा फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीलाई तथा मिलेमतोमा ठेक्का लगाएको र अधिकार क्षेत्रभन्दा बाहिर गरेर सम्झोता गरेको विषयमा दाहालमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई पत्रचार गरेको छ ।