शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

काठमाडौंका नाइट क्लबः केटालाई ‘फी’, केटीलाई ‘फ्री

काठमाडौंका नाइट क्लबः केटालाई ‘फी’, केटीलाई ‘फ्री

काठमाडौं,
राजधानीका डिस्को र नाइट क्लबहरुमा ‘क्राउड’ बढाउने बलियो हतियार बनेका छन्–युवतीहरु । त्यहाँको दृश्य देख्दा यस्तो लाग्छ, क्लब सञ्चालकहरुको ‘बिजनेस पोलिसी’ नै हो–केटालाई ‘फी’, केटीलाई ‘फ्री’ । बुधबार त ‘लेडिज नाइट’ का रुपमा युवतीलाई विशेष सुविधा नै दिइन्छ ।

काठमाडौंमा डेढ दर्जन बढी नाइट क्लब र डिस्कोहरु छन् । ठमेलमा मात्र आठ वटा जति नाइट क्लब रहेको ठमेल पर्यटन विकास परिषद्का सचिव एवम् नाइट लाइफका संयोजक दावाङ लामा बताउँछन् । ठमेलमा इबिजा, फेसेस लाउन्ज, फायर, ओएमजी, रकर्स म्याजिक लगायत क्लबहरुमा ग्राहकको भिड लाग्ने गर्छ ।

दरबारमार्गमा डेजाबु, भिक्ट्री, आई क्लब, उडल्यान्ड, जुजुबा प्रख्यात छन् भने सुन्धाराको भेनिस र त्रिपुरेश्वरको कर्मा क्लब ९पुरानो बेबिलोन० पनि डिस्कोका लागि परिचित छ । शुक्रबारकर्मीले एक साता लगाएर काठमाडौंका यी क्लब र डिस्को चहार्दा थाहा भयो–यिनीहरुको बिजनेस पोलिसी नै रहेछ, ‘केटालाई फी र केटीलाई फ्री ।’

‘नाइट क्लब र डिस्को भनेका ग्ल्यामर बिजनेस हुन्, केटीबिना त यो चल्दै–चल्दैन,’ ठमेलका एक क्लब म्यानेजरले नाम नखोलिदिने सर्तमा भने, ‘क्लबमा २० जना केटीसँग २ सय जना केटा अँठ्याएर राख्ने शक्ति हुन्छ । केटी छैन भने त केटाहरु तुरुन्तै फर्किहाल्छन् ।’

केटीलाई किन फ्री ?

‘केटीहरु भनेको डिस्कोका आकर्षण हुन्,’ लामो समयदेखि डिस्कोमा डिजेका रुपमा कार्यरत रोशन (नाम परिवर्तन) भन्छन्, ‘जहाँ केटी हुन्छन्, त्यहाँ केटाहरुको भिड लाग्छ । बिजनेस बढ्छ । त्यसैले डिस्कोहरुले उनीहरुलाई विशेष सुविधा दिन्छन् ।’ डिस्को र क्लबहरुमा इभेन्ट आयोजना गर्नेहरूले पनि ठूलो क्राउड जम्मा पार्नका लागि युवतीलाई लगाउने गरेका छन् । ‘पोस्टरमा केटीकै तस्बिर हुन्छ, टिकट भिडाउने पनि उनीहरू नै हुन्छन्,’ एक इभेन्ट अर्गनाइजरले भने, ‘तपाईं प्रत्येक दिउँसो या राति आयोजना गरिएका पार्टी हेर्न जानुस् त्यहाँ भोलन्टियर र टिकट काउन्टरमा युवती नै हुन्छन् । टिकट र फेसबुकमा राखिने पोस्टरमा पनि युवतीको फोटो हुन्छ । फोन गरेर केटाहरूलाई फकाउने र पार्टीमा बोलाउने पनि युवती नै हुन्छन् । यो सब इभेन्ट आयोजना गर्नेहरूको ट्रिक हो ।’

धेरैजसो स्कुले केटाकेटीको उपस्थिति हुन थालेपछि अहिले ठमेलमा दिउँसोको पार्टी आयोजना बन्द भएको छ । तर सुन्धारा, दरबारमार्ग लगायतका क्लबमा यो क्रम रोकिएको छैन । कानुनतः १८ वर्षभन्दा मुनिका कलिला केटाकेटीलाई क्लब र डिस्कोमा प्रवेश निषेध छ । तर ‘लुकिछिपी’ यो क्रम नरोकिएको रिपोर्टिङका क्रममा खुल्यो । ‘अवस्था हेरेर कलिला केटाकेटीलाई पनि छिराउनु पर्ने हुन्छ, उनीहरु जिद्दी गर्छन्, हामीलाई पनि बिजनेस हुने भएकाले परिस्थितिअनुसार डिल गर्ने गर्छौं,’ एक क्लब सञ्चालकले बताए । सुन्धारामा शनिबार दिउँसो भेनिस क्लबअगाडि स्कुले केटाकेटीको मेला लाग्ने गर्छन् ।

‘यहाँ त देखिनसक्नु हुन्छ,’ सुन्धारामा पसल चलाइरहेकी एक महिलाले भनिन्, ‘ओठ निचोर्दा दूध आउला जस्ता केटाकेटी रमिता देखाउँछन् । यो देखेर यस्तै सिक्लान् भनेर म त मेरो छोरालाई पसलमै बोलाउँदिनँ ।’

भिड बढाउन ‘लेडिज नाइट’

काठमाडौं, चाबहिलकी मोनिका लिम्बुका लागि हरेक बुधबार विशेष दिन हो । ‘हाम्रा लागि त यो महिला दिवस नै हो,’ बुधबार फायर क्लबमा नाच्दै गर्दा भेटिएकी उनले भनिन्, ‘किनभने यो दिन केटीहरुको नाइट हो, त्यसैले हाम्रो ग्याङ हरेक बुधबार क्लब आएर रमाइलो गर्छ ।’

मोनिकाले भनेजस्तै काठमाडौंका क्लब/डिस्कोहरुले बुधबारलाई ‘लेडिज नाइट’का रुपमा सेलिब्रेट गर्ने गर्छन् । ‘खासमा व्यापारका हिसाबले बुधबार अफ डे हो,’ इबिजा क्लबका सञ्चालक समेत रहेका ठमेल पर्यटन परिषद्का सचिव दावाङ लामाले भने, ‘डिस्कोमा क्राउड जम्मा गर्ने हिसाबले यो दिनलाई लेडिज नाइटका रुपमा मनाउन थालिएको हो ।

त्यसो गर्दा लेडिजहरुको उपस्थिति त बाक्लो हुने नै भयो, केटाहरुको संख्या पनि बढ्ने गर्छ । यो एक किसिमको बिजनेस पोलिसी नै हो ।’ ‘लेडिज नाइट’का दिन आउने युवतीहरुलाई अधिकांश डिस्को र क्लबहरुले ‘फ्री इन्ट्री’सँगै ‘फ्री वेलकम ड्रिंक्स’ उपलब्ध गराउने गरेका छन् ।

‘क्लबअनुसार वेलकम ड्रिंक्स भिन्न–भिन्न हुन्छ, कसैले टकिला, कसैले बियर त कसैले रम दिने गर्छन्,’ बुधबार क्लब धाउने गरेकी कालिमाटीकी प्रमिलाले भनिन् । ‘फ्रि’मा छिर्न पाइने र ‘वेलकम ड्रिंक्स’ पनि पाइने भएकाले थुप्रै युवतीहरु यो दिन अभिभावकसँग झुट बोलेर क्लब जाने गरेको नाइट लाइफसँग परिचित ठमेलका एक व्यवसायीले बताए ।

-setoghar