मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सिंहदरबारभित्र केएमसीका सञ्चालक शर्मालाई विद्यार्थीले दले कालोमोसो

सिंहदरबारभित्र केएमसीका सञ्चालक शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौं,
विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । विद्यार्थीसँग तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै शर्मालाई शुक्रवार विद्यार्थीले सिंहदरबारभित्र कालोमोसो दलेका हुन् ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयबाट बाहिरिने क्रममा विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । काठमाडौं मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न भन्दै मन्त्रालयमा वार्ता भएको थियो ।

यसअघि काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्देशन दिएका थिए । उनी मोरङको नोबेल मेडिकल कलेजका पनि सञ्चालक हुन् ।

विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी पैसा लिएको भन्दै उनको कलेजविरुद्ध विद्यार्थीहरूले पटक–पटक आन्दोलन गरेका छन् । बिहीवार पनि नोबेल मेडिकल कलेजमा विद्यार्थीले आन्दोलन गरेका थिए ।

‘मेडिकल माफिया’ भन्दै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । उनीहरूले शर्माविरुद्ध नाराबाजी समेत गरेका थिए । विप्लब समूह निकट अनेरास्ववियुका विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेको बताईएको छ ।