शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सदनमा एमालेले भन्यो– प्रचण्ड अब प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैनन्

सदनमा एमालेले भन्यो– प्रचण्ड अब प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैनन्

 

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनको लागि भारतलाई खुला रूपमा आमन्त्रण गरेको आरोप लगाएको छ।राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद भगवती न्यौपाने प्रधानमन्त्रीले देश र जनतालाई धेरै ढाँटेकाले अब जवाफ होइन राजीनामा आउनुपर्ने बताइन्।

उनले भनिन्, ‘उहाँले अहिले मात्रै होइन एमसीसीमा पनि त्यसरी नै ढाँट्नुभयो। अमेरिकालाई पास गर्छौ भनेर समय तोकेर पत्र पठाउनुभयो। यहाँ कार्यकर्तालाई उफार्नुभयो। उहाँ नाटक गर्न सिपालु हुनुहुन्छ। उहाँले राष्ट्रियताको विषयमा धावा बोल्नुभएको छ। भारतलाई सरकार बनाउनको लागि खुला रूपमा आमन्त्रण गर्नुभएको छ। केही समयअघि पनि उहाँले भारतको कम्फर्टेबल सरकार बनाउनको लागि सहयोग माग्नुभयो। उहाँले त्यस्ता गल्ती धेरै गर्नुभयो।’

उनले जनयुद्ध बेला भारतलाई पठाएको चिठीपछि सार्वजनिक भएको पनि स्मरण गरिन्। उनले अहिले भारत जाँदा पनि राष्ट्रघाती सहमति गरेर आएको आरोप लगाइन्। उनले भनिन्, ‘तपाई संसदमा आएर जवाफ दिन र प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक हुनुहुन्न। उहाँ नाटक गर्न धेरै सिपालु हुनुन्छ। त्यसैले हामी हाम्रो मागबाट पछि हट्दैनौं।’