मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

संसद खुलाउन कांग्रेस सकारात्मक

संसद खुलाउन कांग्रेस सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कांग्रेसले सदन खुलाउन सकारात्मक भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री दाहालसँगको भेटमा प्रधानमन्त्रीले आज संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएकाले संसद  अवरोध नगरिदिन अनुरोध गरेका थिए ।  प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि   कांग्रेस  अवरुद्ध सदन खुलाउन सकारात्मक भएको  प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रधानमन्त्रीसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै  उनले प्रधानमन्त्रीले गरेको अनुरोधको  विषयमा संसदीय दलको बैठक बसेर निस्कर्षमा पुग्ने उनले बताए ।

उनले भने,’ प्रधानमन्त्रीज्युले बोलाएपछि मान्य गगन थापाजी र म प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका छौँ । मुलतः प्रधानमन्त्रीज्युले दुई वटा कुरा भन्नुभएको छ । समस्या जुन छ, सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्न मैले पूरै कोशिस र काम गरिरहेको छु र समस्या समाधान गर्न प्रयासरत छु भन्नुभयो । राष्ट्रपतिको सम्बोधनलाई अवारेध नगरिदिनुस्, सहयोग गरिदिनुपयो भन्नुभएको छ । म समस्या समाधानका लागि लागिपरेको छु भन्नुभएको छ । हामीले उहाँले भन्नुभएको कुरालाई संसदीय दलको बैठकमा निर्णय गरेर निस्कर्षमा पुग्छौँ भन्नुभएको छ । समस्या समाधानका लागि सबैसँग छलफल गरिरहेको र समस्या समाधान गर्ने प्रयत्नमा छु भन्नुभएको छ, यसलाई हामी व्यवहारमा देख्न चाहन्छौँ । सहकारीको यत्रो ठूलो रकम अपचलनमा उहाँ जिम्मेवार हुनुहुन्छ । काँग्रेस डराउनुपर्ने कारण छैन । प्रधानमन्त्रीले भनेको कुरा सरोकारको विषय हो ।’